वर्तमान सरकारले जनता लाई आश्वासन मात्र दिएको काँग्रेसको आरोप

खड्क सुनार
मुगु ८ असोज (रेडियो सौर्यदय) । नेपाली कांग्रेस मुगुले वर्तमान सरकारले जनतालाई निरास बनाउने काम मात्र गरेको बताएको छ ।
भदौ २४ गतेबाट सुरु भएको दोस्रो चरणको जागरण अभियानको समापन कार्यक्रममा बोल्दै काँग्रेस नेताहरुले यस्तो आरोप लगाएका हुन् ।
बलात्कारी, भ्रष्टाचारी, माफियाहरुलाई सरकारले नै संरक्षण गरेको, सामान्य नागरिकहरुबाट चर्को कर असुल्ने गराएको, उनिहरुले बताएका छन् ।
मुगु जिल्लाका ४ वटै स्थानीय तहबाट आएका कांग्रेस नेता तथा कार्यकर्ताहरुले मुगु सदरमुकाम गमगढी बजारमा नगरको चैन गाउदेखि अदालत चोक हुदै कृष्ण चोक सम्म नाराबाजी सहितको विरोध र्याली निकालेका थिए ।
विरोध सभामा नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि तिलकबहादुर मल्ल, नेपाली कांग्रेस मुगुका पार्टी सभापति खड्क बहादुर शाही लगायतले सरकारको कामप्रति जनता निरास बनेको बताएका छन् ।