जुम्ला नाग्मदेखि मुगुगमगढी जोड्ने सडक स्तरोन्नति नहुँदा नागरिकहरुलाई सास्थी

खड्क सुनार ।
मुगु, १६ पुष (जगारण) । जुम्ला नाग्मदेखि मुगु गमगढी सडक खण्ड स्तरोन्नतिको काम ढिलाइ हुँदा रारा ताल जाने पर्यटकदेखि अन्य यात्रुले सास्ती खेप्नुपरेको छ ।
बर्खामा हिलाम्य र हिउँद धुलाम्य हुने यो सडक खण्डकै कारण रारा पुग्ने पर्यटकलाई निक्कै सास्ती हुने गरेको हो ।
जुम्लाको नाग्मदेखि मुगुको गमगढीसम्म ९३ किलोमिटर मात्र छ । तर, सडक स्तरोन्नतिको काममा निकै ढिलाइ गरिएको छ । कहिले बजेट अभाव त कहिले ठेक्काको काममा ढिलाइको कारण देखाउँदै सडक स्तरोन्नतिमा चासो दिइएको छैन ।
कर्णाली प्रदेश सरकारका सबै मन्त्रीदेखि सांसदहरू यो सडक हुँदै रारा पुगेका छन् । तर, सडकको अवस्था सुधारमा ध्यान नदिएको स्थानीयको गुनासो छ ।
सडक डिभिजन कार्यालय जुम्लाका कायमुकायम डिभिजन प्रमुख लीलाबहादुर भण्डारीले भने ठेकेदारले काम ढिलो गर्दा काम हुन नसकेको बताउनुभयो ।
बाटो निर्माणका लागि अघिल्लो आर्थिक वर्षमा ५० करोड रुपैयाँ बजेट आए पनि लकडाउनका कारण १० करोड रुपैयाँ मात्र खर्च भएको छ ।
नेपाल कम्युनिस्ट पार्टीका प्रदेश कमिटी सदस्यसमेत रहेका पूर्णप्रसाद धितालले काममा ढिलाइ गर्ने निर्माण व्यवसायीलाई कानुनी दायरमा ल्याउन आग्रह गर्दै ठेकेदारहरू नसुध्रिए जनता सडकमा आउने चेतावनी दिनुभएको छ ।