जुम्लालाई लागूऔषध मुक्त जिल्ला बनाउने अभियानमा प्रहरी

जुम्ला ११ चैत (जागरण) । प्रहरी र प्रशासनले जुम्लालाई लागूऔषध मुक्त जिल्ला बनाउने अभियानमा थालेको छ । यो अभियानअन्तगर्त जुम्लाका माध्यमिक तथा उच्च माध्यमिक तहका विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लागूऔषध दुर्व्यसन विरुद्धको कानुनी ज्ञान दिन शुरू गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयको आयोजनामा पहिलोपटक कर्णाली प्राविधिक शिक्षालयका विद्यार्थीलाई लागूऔषध दुर्व्यसन विरुद्धको सचेतना प्रदान गरेको थियो । लगत्तै, चन्दननाथ माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई दोस्रोपटक सचेतना दिएको छ ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले जिल्लाका सबै माध्यमिक विद्यालय स्तरमा सचेतना फैलाउने बताउनुभएको छ ।
कर्णाली राजमार्ग सञ्चालनमा आएसँगै लागूऔषध ओसारपसार र सेवन गर्नेको संख्या बढिरहेको पाइएको छ । जसकारण जुम्ला लागूऔषधको प्रभावित जिल्ला बन्दै गएको हो ।
ग्रामिण क्षेत्र भन्दा शहरी क्षेत्रमा लागूऔषध सेवन तथा ओसारपसार भइरहेको छ । प्रशासन कार्यालय जुम्लाले लागूऔषध विरुद्धको कार्ययोजना, २०७७ बनाएको छ ।
अब यही कार्ययोजना बमोजिम काम हुने र लागूऔषध मुक्त जिल्ला निर्माणमा जोड दिइने प्रजिअ थापाले बताउनुभएको छ ।