विमान दुर्घटनाको शोकमा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय,

माघ १ । पोखरामा भएको यति एअरलाइन्सको विमान दुर्घटनाको शोकमा सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान दुर्घटनाको शोकमा सार्वजनिक बिदा दिने निर्णय गरेको उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो ।
यस्तै दुर्घटनाका प्रति गहिरो दुःख व्यक्त गर्दै सरकारले दिवङ्गतहरूप्रति श्रदाञ्जली र निधन भएका व्यक्तिको परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले यस घटनाको कारण जाँच गर्नका लागि पूर्वसचिव नागेन्द्र घिमिरेको संयोजकत्वमा पाँच सदस्यीय जाँच समिति पनि गठन गरेको छ ।
यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रवि लामिछानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर घटनाको बारेमा जानकारी लिनुभएको थियो । उहाँले राज्यको सबै शक्ति लगाएर भए पनि उद्धारमा कुनै कमी हुन नदिन सम्बन्धित पक्षलाई निर्देशन पनि दिनुभएको छ ।