कर्णाली प्रदेशको सभामुखमा एमालेकी गुरुङ निर्वाचित

सुर्खेत, १ माघ ।

कर्णाली प्रदेश सभाको सभामुखमा प्रदेशसभा सदस्य नन्दा गुरुङ्ग निर्वाचित हुनुभएको छ ।
आज आइतबार बसेको प्रदेशसभा बैठकमा मत विभाजनबाट नेकपा एमालेकी प्रदेशसभा सदस्य गुरुङ्ग सभामुखमा निर्वाचित हुनुभएको हो । कुल ४० जना प्रदेशसभा सदस्य मध्ये ३८ जनाले मतविभाजनमा सहभागिता जनाएकोमा उहाँको पक्षमा २४ सदस्यले मत दिएका छन् । जसमा माओवादी केन्द्रका १३, नेकपा एमालेका १० र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक जना रहेका छन् । विपक्षमा १४ मत मात्रै परेको थियो ।
यस्तै नवनिर्वाचित सभामुख गुरुङ्ग आज आइतबार नै पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । उहाँलाई प्रदेश प्रमुख तिलक परियारले शपथ गराउनुभएको हो । सपथ ग्रहणपछि कार्यकक्षमा पुगेर कार्यभारपनि सम्हाल्नुभएको छ ।
उहाँ प्रदेशसभाको पहिलो महिला सभामुख बन्नु भएको छ । अघिल्लो कार्यकालमा सातै प्रदेशको सभामुखमा पुरुष थिए भने यस पटक पनि अहिलेसम्म महिला सभामुखमा निर्वाचित हुने उहाँ मात्रै हुनुहुन्छ ।