बुद्धीमान पुन
सल्यान, २६ असोज (रेडयो राप्ती) । पठन संस्कृतिको विकास गर्न सल्यानमा समाजवाद अध्ययन केन्द्र स्थापना गरिएको छ । शारदा नगरपालिका २ खलंगामा स्थित लाल दरबारमा अध्ययन केन्द्र स्थापना गरिएको हो । केन्द्रमा अहिले बिभिन्न लेखकले लेखेका डेढ सय बढी पुस्तकहरु रहेका छन् ।
मान्छेको रुचि र आबश्यकता अनुसार ती पुस्तकहरु अध्ययन गर्न सकिने अध्ययन केन्द्रका अध्यक्ष गणेशमान सिंहले जानकारी दिनुभयो ।
पछिल्लो समयमा मानिसमा अध्ययन गर्ने बानीको बिकास कम भैरहेको सन्दर्भमा पढाई प्रति जागरुक बनाउन केन्द्र स्थापना गरिएको उहाँको भनाई छ ।
उहाँले अबका दिनमा सबै पिँढीको रोजाई र रुचीका पुस्तकहरु यस केन्द्रमा राखिने बताउनुभयो । जिल्लामा बिगतमा केही पुस्तकालय स्थापना भएपनि दिगो हुन सकेनन्, फलस्वरुप अहिले बन्द अबस्थामा छन् ।
अध्ययन केन्द्रको आज प्रतिनिधिसभा सदस्य टेक बहादुर बस्नेतले उद्घाटन गर्नु भएको छ । उद्घाटन कार्यक्रममा बोल्दै पूर्बमन्त्री समेत रहनुभएका बस्नेतले पछिल्लो समयमा मानिसमा ज्ञानको खडेरी परेको बताउनुभएको छ ।
नेपाली समाजले समाजबादलाई अनुमोदन गरिसकेको सन्दर्भमा मान्छेहरुमा आबश्यक ज्ञानको अभाव हुदाँ समस्या भएको बताउनुभयो । पुस्तकको अध्ययन र अनुसन्धानबाट मात्रै नयाँ कुराहरुको आगमण हुने बताउनुभयो ।