कर्णालीमा उद्योगको संख्या ८१ वटा मात्रै

सुर्खेत । कर्णालीमा उद्योगको संख्या ८१ वटा मात्रै रहेको पाइएको छ । नेपाल उद्योग विभागममा दर्ता भएका मध्ये कर्णाली प्रदेशमा ८१ वटा मात्र उद्योग दर्ता भएका छन् । यी ८१ वटा उद्योगले ९ हजार १ सय ७ जनालाई रोजगारी सिर्जना गरेको तथ्यांक छ ।
कर्णालीका अन्य जिल्लाको तुलनामा सबैभन्दा कम डोल्पाबाट एक उद्योग दर्ता भई क्रमशः २१ जनालाई रोजगारी सिर्जना भएको देखिएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय, कर्णाली प्रदेशका अनूसार प्रदेश उद्योगको संख्या निकै कम मात्रामा छन् ।
यस्तै, कर्णाली प्रदेशमा औद्योगिक ग्राम बनाउने संघीय सरकारको योजना अलपत्र परेको छ । प्रदेशका तीन जिल्लामा आव २०७६÷७७ मा संघीय सरकारले एक स्थानीय तह एक औद्योगिक ग्राम सञ्चालनमा ल्याउने योजनासहित औद्योगिक ग्राम बनाउने घोषणा गरेको थियो ।
स्थानीय तहले औद्योगिक ग्रामको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनाएपछि भौतिक संरचना निर्माण गर्ने गरी रकम व्यवस्थापन गर्ने संघीय सरकारले जनाएको थियो ।
छरिएर रहेका उद्योगलाई एकै स्थानमा समेटेर स्थानीय स्रोतसाधन, कच्चा पदार्थ, प्रविधि र सीप प्रयोग गरी स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने उद्देश्यले निर्माण गर्ने संघीय सरकारको योजना हो ।
कर्णाली प्रदेशको सुर्खेत, कालिकोट र जाजरकोट गरी तीन जिल्लाका ६ वटा स्थानीय तहले औद्योगिक ग्राम स्थापना गर्ने भनेर घोषणा गरेका छन् तर लामो समय भइसक्दा पनि कुनै काम अगाडि बढ्न सकेको छैन ।