सवारी दुर्घटनाले सुर्खेत तनावग्रस्त, प्रशासनद्वारा कर्फ्यु जारी

सुर्खेत, १४ माघ (जागरण) । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर आज दिनभर तनावग्रस्त बनेको छ । बिहान वीरेन्द्रनगर नगरपालिका–३ गौतमचोक नजिकै ट्रिप्परले किचेर एक युवकको मृत्यु भएपछि सुरु भएको आन्दोलन उग्र बनेपछि वीरेन्द्रनगर बजार क्षेत्र तनावग्रस्त बनेको हो ।

घटनास्थल । फोटोः जागरण

भे १ प २१७८ नम्बरको मोटरसाइकलमा सवार कालीकोटका २१ वर्षीय केशरबहादुर सिंहलाई भे १ ख २२४२ नम्बरको ट्रिप्परले किचेको थियो । उचित क्षतिपूर्ति र दोषीलाई कारबाही गर्न माग गर्दै सुरु भएको आन्दोलन ट्रिप्पर चालकलाई नियन्त्रणमा लिँदासमेत नरोकिएको हो ।
यसैबीच, सुर्खेतको वीरेन्द्रनगर बजार आसपासमा साँझ साढे ६ बजेदेखि भोली विहान ६ बजेसम्म कर्फ्यु लगाइएको छ । सुरक्षा समितिको बैठकपछि कर्फ्यु लगाउने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर खड्काले बताउनुभएको छ ।
वीरेन्द्रनगर बजार क्षेत्रको पूर्वमा इत्राम खोला, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्नराजमार्गको पाँच सय मिटर सम्मको दूरीमा कर्फ्यु जारी गरिएको खड्काले बताउनुभयो । कर्फ्युको समयमा भेला हुन, अन्य काम गर्न र हिँडडुल गर्नसमेत बन्देज लगाइएको छ ।

प्रशासनले जारी गरेको विज्ञप्ति । फोटोः जिल्ला प्रशासन कार्यालय

कर्फ्यु तोडेमा गोलीसमेत हान्न सक्ने चेतावनी समेत दिइएको छ । यता, मृतकका आफन्तले गरेको आन्दोलनका क्रममा प्रहरीले २ राउण्ड हवाई फायर गरेको हो ।
स्थानीय नागरिकका अनुसार प्रहरीले गोली चलाउँदा जुम्लाका २५ वर्षीय महेश गौतम, दैलेखका १६ वर्षीय हिदेशकुमार शाही, दैलेखका १७ वर्षीय कृष्णबहादुर थापा, दैलेखकै १७ वर्षीय गोकुल गिरी, कालीकोटका कमान सिंहलगायत आठजना घाइते भएका छन् ।
प्रशासन र पीडित पक्षबीच सहमति भएर शव उठाउने तयारी भए पनि आन्दोलन नरोकिँदा समस्या उत्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी खड्काले बताउनुभयो ।