ट्रकले ट्रयाक्टरलाई ठक्कर दिँदा चालकको मृत्यु

सुर्खेत, १७ माघ (जागरण) । सुर्खेत वीरेन्द्रनगरको पिपिराचोकमा ट्रकले ट्रयाक्टरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
सुब्बाकुनाबाट वीरेन्द्रनगर बजारतर्फ गुडिरहेको भे १ त ७५८९ नम्बरको ट्रयाक्टरलाई लु १ ख ७६७० नम्बरको ट्रकले ठक्कर दिँदा ट्रयाक्टर चालक ३४ वर्षीय प्रेम कार्कीको मृत्यु भएको हो ।

तस्वीरः थाहा ।

सहचालक भने घाइते भएका प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतकाअनुसार ट्रयाक्टरको ट्रलीले च्यापिएर जाजरकोटको जुनीचाँदे गाउँपालिका–७ घर भएका कार्कीको मृत्यु भएको हो ।
ट्रयाक्टर डिजेल भर्नको लागि मोडिने क्रममा तीव्र गतिमा आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ ।
चार दिनअघि मात्रै वीरेन्द्रनगरको जुम्लारोडमा टिप्परको ठक्करबाट कालिकोटका एक युवकको मृत्यु भएपछि वीरेन्द्रनगरमा कफ्यूसमेत लगाउनु परेको थियो ।