हिमाली जिल्लामा शैक्षिक सत्र शुरु, शिक्षक न पाठ्यपुस्तक

सुर्खेत, १७ फागुन (जागरण) । कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा नयाँ शैक्षिक सत्र शुरु भए पनि प्रभावकारी रुपमा विद्यालय सञ्चालन हुन सकेका छैनन् । कतै नयाँ पाठ्यपुस्तकको अभाव रहेको छ भने कतै विद्यालयमा पढाउने शिक्षकहरु नै विद्यालय पुगेका छैनन् ।

खासगरी बाहिरी जिल्लाबाट जागिरको सिलसिलामा ती जिल्लामा पुगेका शिक्षकहरु समयमै गाउँ नपुगेका हुन् । नयाँ शैक्षिक सत्र सुरु भएको १६ दिन पुगे पनि हुम्लामा ताजाँकोट गाउँपालिकाका अधिकांश विद्यालय सुनसान देखिएका छन् ।

विद्यालयमा शिक्षक नै उपस्थित नहुँदा भर्ना अभियान समेत सुरु हुन सकेको छैन । शिक्षकहरु नै विद्यालयमा नपुग्दा समस्या भएकोे ताजाकोट गाउँपालिका ३ थापागाउँका स्थानीय तुलवीर सार्कीले बताउनुभयो । मंसिर महिनामा हिउँदे बिदा गएका शिक्षक अहिलेसम्म विद्यालयमा नपुगेपछि विद्यार्थीहरु पढाइबाट वञ्चित भएका छन् ।

यस्तै, डोल्पाका स्थानीय तहले आफू खुशी किताब एजेन्ट थप गर्दा किताब वितरणमा समस्या हुने गरेको छ । ठूलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिकालगायतका स्थानीय तहले प्रत्येक वर्ष नयाँ एजेन्ट थप गर्दा किताब वितरणमा समस्या हुने गरेको हो ।

पुराना एजेन्टसँग सहकार्य नै नगरी स्थानीय तहले एजेन्ट थप गर्दा किताब वितरणमा समस्या हुँदै आएको जनक शिक्षा सामग्री केन्द्र नेपालगञ्ज बाँकेका प्रमुख रवीन्द्रकुमार श्रेष्ठले बताउनुभयो । उहाँले प्रत्येक वर्ष एजेन्ट फेरिँदा गोदाममै हात हालाहालकोको अवस्था आएको पनि उहाँले बताउनुभयो । एजेन्ट किताब गोदाममै पुगेर हात हालाहालसम्म गर्दा प्रत्यक वर्ष किताब बाँड्न समस्या हुने गरेको बताउनुभयो ।

नयाँ पुरानो कुन एजेन्टले किताब उठाउने भन्ने विवादका कारण पनि किताब गोदाममै थन्किने र कर्णालीमा किताब पुग्न ढिलाइ हुने गरेको उहाँको भनाई छ । प्रत्येक वर्ष एजेन्ट गोदाममै आएर झगडा गर्ने गरेको नयाँ मुलक प्रकाशन प्रालिका अध्यक्ष मेघराज वलीले बताउनुभयो । उहाँले किताब एजेन्टकै कारण समयमै गोदामबाट किताब नउठ्ने गरेको बताउँदै किताब उठाउनका लागि शिक्षा विकास तथा समन्वय इकाइको सिफारिस ल्याउनु पर्ने बताउनुभयो ।

यता, स्थानीय तहले भने प्रत्येक वर्ष नयाँ एजेन्ट थप गरेर कर्णालीमा किताब ढुवानीमा पनि राजनीति गरेको पुराना एजेन्टको आरोप छ । यस वर्षका लागि ठूलीभेरी नगरपालिकामा पर्ने सौगात स्टेसनरीका प्रोपराइटर गोपाल शाहीबाहेक अरू सबै एजेन्टले कक्षा १ देखि १० सम्मका किताब उठाइसकेका छन् ।

नेपालगञ्जबाट किताब उठाएका अधिकांस एजेन्टले कक्षा १ बाहेक कक्षा २ देखि १० सम्मको किताब आफ्नो क्षेत्रमा पुर्‍याएर विद्यार्थीलाई वितरण गरिसकेको शिक्षा विकास तथा समन्वय इकाई डोल्पाले जनाएको छ ।