क्वारेन्टाइन निर्माणमा अवरोध गर्दै स्थानिय नागरिक

दिलमाया शाही ।
जुम्ला, १९ जेठ (रेडियो नारी आवाज) । जुम्लाका बिद्यालयमा क्वारेन्टाइन बनाउन खोज्दा स्थानिय नागरिकले अबरोध गरेका छन् ।

फैलिदो कोरोना भाइरसले भारतबाट गृह जिल्ला जुम्ला आउने नागरिक अत्यधिक मात्रमा बृद्धि भएपछि अहिले कर्णाली प्राविधिक शिक्षालयको जिल्ला स्तरिय एकीकृत क्वारेन्टाइन भरीभराउ छ ।

त्यहाँको क्वारेन्टाइनले थेक्न सक्ने अवस्था नभएपछि सरकारको नीति अनुसार स्थानीय तहले सामुदायिक विद्यालयमा क्वारेन्टाइन निर्माण गर्न खोजेपछि स्थानीयले विरोध गरी अवरोध गर्ने गरेका हुन् ।

कोरोना भाइरस सर्ने डरले गाउँबस्ती नजिक क्वारेन्टाइन बनाउन नहुने भन्दै स्थानीयले विरोध गरेका छन । अहिले कर्णाली प्राविधिक शिक्षालय, दुर्गा मावि लाम्रा र सरस्वती मावि कुडारी गरी तीन वटा क्वारेन्टाइनमा तीन सय ८३ जना नागरिक बसेका छन् ।

बाहिरबाट आउने नागरिकको संख्या बढ्न थालेपछि सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाउने सरकारको नीति अनुसार क्वारेन्टाइन बनाउन खोज्दा स्थानीयले विरोध गर्ने गरेको चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले बताउनुभएको छ ।