‘विगतबाट सिक्दै कार्यान्वयन हुने खालको मात्र योजना र बजेट ल्याउनुपर्छ’

कृति सुवेदी ।
सुर्खेत, २२ जेठ (जागरण) । संघीय नेपालका तीन तहका सरकारहरुमध्ये केन्द्र सरकारले हरेक वर्ष नयाँ आर्थिक वर्षको बजेट जेठ १५ भित्र सार्वजनिक गरिसक्नुपर्छ । जसअन्तर्गत केन्द्र सरकारले आफ्नो बजेट सार्वजनिक गरिसकेको छ । त्यसैगरी प्रदेश सरकारले असार १ गतेभित्र बजेट ल्याइसक्नुपर्छ । कर्णाली प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम पारित समेत भइसकेको छ । अव बजेटको तयारी छ । कर्णाली सरकारको नीति तथा कार्यक्रमप्रति प्रतिक्रिया र अव आउने बजेट सन्दर्भमा प्रदेशसभा सदस्यहरुको भनाई के छ त ? यसैसन्दर्भमा हामिले दैलेख निर्वाचन क्षेत्रनम्वर १ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य धर्मराज रेग्मीसँग कुराकानी गरेका छौँ ।

१) कर्णालीको नीति तथा कार्यक्रमबारे तपाईंको प्रतिक्रिया के छ ?
यसैमाथि छलफल चलिरहेको छ,यस विषयमा मैले पनि आफ्ना कुुरा राखिसकेको छु, खासगरी अन्य विकास निर्माणका कुरा छोडेर कोरोना र कोरोनाले उत्पन्न परिस्थितिको निदान गर्नको लागि त्यहिअनुरुपको स्वास्थ्य सामग्री र यावत कुरामा बजेट केन्द्रित गर्नुपर्छ भनेर मैले भनेको छु ।

२) अब बजेट सार्वजनिक पनि हुने बेला भयो, के कस्ता कुरा बजेटमा समेटिनुपर्छ ?
बजेटमा अंक आउनुपर्छ, अहिलेको असामान्य परिस्थितिमा कर्णालीका ५ देखि ७ लाख मानिसहरुलाई अव आउनसक्ने भोकमरीबाट कसरी बचाउने खाद्यान्नको व्यवस्था गर्ने कुन अवस्थामा के गर्ने भन्ने कार्यान्वयन हुने किसिमको योजना बनाउनुपर्छ । हाम्रा जनतालाई बचाउन खाद्यान्नमा रकम छुट्याउनुपर्छ भदौ असोज भन्दा पहिला कृषिमा जानसक्ने उहाँहरुको अवस्था रहदैन । त्यतिञ्जेलसम्म पहिला उहाँहरुलाई राहतकै रुपमा बाँड्नुपर्छ र पछि कृषिमा जानसक्ने उहाँहरुको अवस्था भएपछि त्यसतर्फको लागि बजेट रकमान्तर गरिनुपर्छ । विगतमा जस्तै सामान्य किसिमले नीति तथा कार्यक्रम आयो । त्यसमा हामीले टिप्पणी गरेका छौँ । आफ्नो किसिमले राय सुझाव दिएका छौँ । मलाई लाग्छ हामीले सोचेअनुसारको बजेटमा समावेश हुन्छ ।

३) विगतमा बजेट खर्च नै नहुने र योजना कार्यान्वयन नै नहुने गरेकोमा अब के गरेमा यस्तो समस्या समाधान होला ?
तीन वर्षको अवधिमा नीति तथा कार्यक्रमबाट हामीले पक्कैपनि पाठ सिक्नुपर्छ । बजेट कागजमा लेखिने र त्यसको कार्यान्वयन नहुने भएको छ । कार्यान्वयन हुने खालका योजना ल्याउनुपर्छ । त्यो स्थिति बदल्न हामीले लागू हुन सक्ने चाहिँ योजना ल्याउनुपर्‍यो ।