कृषि योजनाको अनुगमन

सुर्खेत, १३ असार (जागरण) । कणाली प्रदेशको कृषि विकास निर्देशनालयबाट चालु आर्थिक वर्षमा सुर्खेतका विभिन्न स्थानिय तहमा सञ्चालन गरेका योजनाहरुको अनुगमन गरिएको छ । सुर्खेतको लेकवेसी, भेरीगंगा र गुर्भाकोट नगरपालिकमा रहेका योजनाहरुको अनुगमन गरिएको हो ।

अनुगमन टोलीले लेकवेसी नगरपालिका वडानम्बर ३ र ४ को लक्षित वर्ग अर्गानिक कृषि प्रवद्र्धन कार्यक्रम र अर्गानिक कृषि प्रवद्र्धन कार्यक्रम, गुर्भाकोट नगरपालिका वडानम्बर १३ मा वेतेनी खोला सेराघारी सिंचाई कुलो र लक्षित वर्ग कार्यक्रम तथा भेरीगंगा नगरपालिका वडानम्बर १० मा निर्माण भइरहेको कोल्ड स्टोरको अनुगमन गरेको छ ।

लेकवेसी नगरपालिका ३ मा रहेको लक्षित वर्ग अर्गानिक कृषि प्रवद्र्धन कार्यक्रमका प्राविधिक सृजना खड्काकाअनुसार ४० लाख रुपैयाँ बजेटमा ५५ घरधुरीमा प्रतिघर २ ओटाका दरले बोका, ५० प्रतिशत अनुदान रकममा एउटा घरधुरीमा दुईवटा पाठी बाख्रा वितरण गरिएको छ ।

यस्तै बाख्रालाई घाँस उत्पादन गर्न किमु लगायत वितरण तथा प्याज र करेला खेती उत्पादनका काम भएको खड्काले जानकारी दिनुभयो । साथै एक किलो प्याजको बिउबाट २ क्विन्टल प्याज उत्पादन गर्न सफल भएको र करेला अहिले पनि उत्पादन भइरहेको खड्काले बताउनुभयो ।


पहिला देखि नै केही बाख्रापालन गर्दै आएका कृषकहरुलाई कार्यक्रमले थप सहयोग पुगेको कृषकहरुले बताएका छन् । यस्तै वडा नम्बर ४ मा प्रदेशसभा सदस्य अमृता शाहीको सांसद विकास कोषको लक्षित वर्ग कार्यक्रम अन्तर्गत अर्गानिक कृषि प्रवद्र्धन कार्यक्रमअन्तर्गत ४२ घरधुरीलाई ५० प्रतिशत अनुदानमा बोयर बाख्रा वितरण गरिएको प्राविधिक चन्द्रबहादुर रुचालले जानकारी दिनुभयो ।

गत मंसिर महिना देखि सञ्चालन भएको कार्यक्रमका लागि २१ लाख ४२ हजार खर्च भएको प्राविधिक रुचालको भनाई छ । अनुगमन गर्दा सोचभन्दा पनि निकै उत्साहजनक रुपमा कार्यक्रम सञ्चालन भएको सांसद अमृता शाहीले बताउनुभयो ।

गुर्भाकोट नगरपालिका –१३ सेराघारीमा वेतेनी खोला सेराघारी सिंचाई कुलो सिँचाई आयोजनाको ४ सय २५ मिटर बराबरको काम सम्पन्न भइसकेको छ । अब २ सय ७५ मिटर काम हुन बाँकी रहेको आयोजनाले बताएको छ ।

त्यस क्षेत्रमा प्रदेशसभा सदस्य ठम्मरबहादुर विष्टको सांसद विकास कोषको रकमबाट दलित तथा अति विपन्न कार्यक्रमको पनि काम राम्रो देखिएको छ ।

यस्तै भेरीगंगा नगरपालिका–१० छिन्चुमा २०७६ देखि स्थापना शुरु भएको नारी जागरण कोल्ड स्टोरको काम ९० प्रतिशत सकिएको छ । बाँकी १० प्रतिशत काम यही महिनामा सम्पन्न गरेर उद्घाटन गरिने नारी कोल्ड स्टोरका अध्यक्ष ज्ञानु भुसालले जानकारी दिनुभयो ।

कृषि विकास निर्देशनालयका निर्देशक तथा वरिष्ठ कृषि अर्थविज्ञ चित्रबहादुर रोकायाले व्यक्ति विषेश भन्दा पनि सब थोरै रकम भएपनि समग्र कृषकहरुको घरधुरीलाई लाभान्वित भएको बताउनुभयो ।

उहाँले अहिले निकै उत्साहजनक काम भएको र आगामी दिनमा पशुको पशु तर्फ र कृषिको कृषि तर्फ कार्यक्रम मन्त्रालय देखिने छुट्याउँदा थप प्रभावकारी बन्ने बताउनुभयो ।