कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि शुरु

सुर्खेत, ११ जेठ (जागरण) । कर्णाली प्रदेशसभाको दोस्रो अधिवेशन आजदेखि शुरु हुँदैछ । यसअघि २२ वटा वैठक बसी पहिलो अधिवेशन गत वैशाख १८ गते सकिएको थियो ।
दोस्रो अधिवेशन शुरु हुनु अगाडि नै संसदमा सात वटा विधेयक दर्ता भएको संसद सचिवालयले जनाएको छ ।
तीमध्ये सामाजिक संघसंस्था सञ्चालन तथा व्यवस्थापन विधेयक–२०७४, मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवासम्बन्धी कानुन तर्जुमा गर्न बनेको विधेयक–२०७५, कर्णाली प्रदेशस्तरका केही सार्वजनिक लिखत प्रमाणीकरण कार्य्विधि ऐन–२०७५, कर्णाली प्रदेशको गाउँसभा र नगरसभाका कानुन निर्माण प्रक्रियासम्बन्धी ऐन–२०७५ संसद्मा पेश हुने संसद सचिवालयले जानकारी दिएको छ ।
हिजो बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा छलफलपछि प्राथमिकताका आधारमा चार विधेयक संसदमा पेश हुने सहमति भएको बताईएको छ ।
प्रदेशसभा सचिवालयका सचिव राजेश पौडेलका अनुसार पहिलो अधिवेशनकै क्रममा संसदमा दर्ता भएको कर्णाली प्रदेश आकस्मिक कोष विधेयक–२०७५ पारित हुनेछ ।
यस्तै प्रदेशसभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक तथा सुविधासम्बन्धी विधेयक–२०७५, कर्णाली प्रदेश स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधासम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५ र कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन–२०७५ पनि सचिवालयमा दर्ता भएका छन् ।
यी विधेयक संसदको अर्को बैठकमा पेश हुनेछन् । संसदको आज बैठक दिउँसो १ बजे बस्दैछ ।