खोलाले बगाउँदा एकै परिवारका चारजनाको मृत्यु

कालिकोट, १ भदौ (जागरण) । कालिकोटको नरहरीनाथ गाउँपालिका ७ उच्छवको दुदुली खोलाले बगाउँदा एकै परिवारका चारजनाको मृत्यु भएको छ ।
दिदीको घरमा भेटघाटमा जान लागेका एकै परिवारका चारजनालाई दुदुली खोला तर्ने क्रममा बगेर मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यलय कालिकोटका सूचना अधिकारी यक्षराज जोसीका अनुसार अछामबाट माल्कोट माइती आएकी ३३ वर्षीया देवा बोहोरा, उहाँकी १४ वर्षीया छोरी बिपना बोहोरा, ७ वर्षीय छोरा हेमन्त बोहोरा र १ वर्षीय छोरी आकृति बोहोराको दुदुली खोलाले बगाउँदा मृत्यु भएको हो ।
यस्तै कालिकोटमा साउन महिनामा मात्रै बाढीपहिरोमा परेर ३१ जनाले मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोटका अनुसार पहिरोका कारण सबैभन्दा बढी नरहरिनाथ गाउँपालिकामा ११, महाबै गाउँपालिकामा आठ, रास्कोट नगरपालिकामा सात, सान्नीत्रिवेणी गाउँपालिकामा दुई, पलाता गाउँपालिका, पचालझरना गाउँपालिका र खाँडाचक्र नगरपालिकामा एक–एकजनाको मृत्यु भइसकेको छ ।
नरहरिनाथ गाउँपालिकामा सात, रास्कोट नगरपालिकामा तीन, महाबै गाउँपालिकामा चार र पलाँता गाउँपालिकामा चार गरी १८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बाढीपहिरोका कारण जिल्लाभर तीन सय ५८ घर भत्किएका छन् । पाँच सय ९५ परिवारका दुई हजार पाँच सय ७८ जना विस्थापित भएको प्रमुख जिल्ला अधिकारी चन्द्रप्रसाद गैरेले बताउनुभएको छ ।