दैलेखका चारवटा स्वास्थ्य संस्थाहरुको स्तोरन्नती लागि करिब ४ करोड रकम

पंख बहादुर शाही ।
सुर्खेत, २२ असोज (जागरण) । चालु आर्थिक बर्षमा दैलेखका चारओटा स्थानीयतहका स्वास्थ्य संस्थाहरुको स्तोरन्नती गरिने भएको छ । स्तोरन्नतीका लागि संघीय सरकारले करिब ४ करोड रकम विनियोजन गरेको हो ।
चारओटा स्थानीयतहका स्वास्थ्य संस्थाहरुका वार्ड वृद्धि र स्तोरन्नतीका लागि करिब ४ करोड बराबर रकम संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विनियोजन गरेको छ ।
भदौ एक गते मन्त्रालयले गरेको निर्णय अनुसार जिल्लाका महावु गाउँपालिका, नौमुले गाउँपालिका, गुराँस गाउँपालिका तथा चामुण्डाबिन्द्रासैनी नगरपालिकामा रहेको स्वास्थ्य संस्थाहरुको वार्ड वृद्धि र स्तोरन्नती गरिने भएको दैलेखबाट निर्वाचित प्रतिनिधि सभा सांसद पार्वती विशुन्केले जानकारी दिनुभयो ।
गुराँस गाउँपालिकाको रतिखोला स्वास्थ्य चौकी, नौमुले गाउँपालिकाको नौमुले प्राथमिक स्वास्थ्य चौकी र चामुण्डाबिन्द्रासैनी नगरपालिकाको लयाटीबिन्द्रासैनी स्वास्थ्य चौकीलाई थप १५÷१५ शैयाको वार्ड निर्माण गरिने छ ।
जसका लागि १ करोडको दरमा रकम पठाइएको छ ।
यस्तै, महावु गाउँपालिकाको गैडाबाज स्वास्थ्य चौकीलाई १० शैया थप गर्नका लागि ८५ लाख रकम विनियोजन गरिएको छ ।
कोरोना महामारी सँगै स्थानीय स्तरमा भएका स्वास्थ्य संस्थाहरुको स्तरन्नतीलागी उक्त रकम विनियोजन गरिएको हो ।