बडादशैँ अन्तर्गत आज मान्यजनहरुबाट टिका जमरा लगाई मनाइदै

सुर्खेत, १० कात्तिक (जागरण) । आज विजयादशमी अर्थात नवरात्रीको दशौं दिन, बडा दशैंको सबैभन्दा महत्वपूर्ण दिन । यस दिन दुर्गा भवानी पूजाको विसर्जन गरि मान्यजनहरुबाट प्रसाद स्वरुप टिका जमरा लगाइन्छ ।

भगवान रामचन्द्रले बनबासका बेला दुर्गा स्वरुपा महामायाको नौ दिनसम्म पूजा आराधना गरेपछि महामाया देवीको कृपाले नवमीको रातमा ‘भोलीको दिन मेरो प्रसाद स्वरुप टिका जमरा लगाई रावणसंग युद्ध लडेमा विजयी हुन्छौ’ भनेर आशिर्वाद दिनुभएको थियो ।

आश्विन शुक्ल दशमीका दिन घडाको जलको अभिशेक लिई दुर्गा भवानीको प्रसाद स्वरुप टिका जमरा लगाई भगवान रामले रावणमाथि विजयी प्राप्त गरेका थिए ।

त्यहि दिनदेखि विजया दशमीका नामले आजको दिन सवैले चामलमा दहि र रातो रंग मिसाएर बनाईएको टिका जमरा लगाउने र मान्यजनबाट आशिर्वाद लिएर दशैं मनाउँदछन् ।

यस दिन नवरात्रिभर अर्थात घटस्थापनादेखि नौ दिन पुजा आराधना गरिएकी नवदुर्गा भवानीको पूजास्थल र प्रतिमालाई बिसर्जन गरिन्छ । यस दिन सबैले फूल, अक्षता लिएर क्षमा प्रार्थनासाथ घडाको अभिशेक लिएर दुर्गा पूजा विसर्जन गर्दछन् ।

त्यसपछि घरको मुल ढोकाको दैलो माथि टिका र जमरा टाँसेर विधिवत रुपमा टिका लगाउने साईत हेरेर विजया दशमीको टिका फुकाईन्छ । यसपटक टिकाको साइत विहान १० बजेर १९ मिनेटमा छ ।