पेट्रालियम पदार्थ अन्वेषणको ड्रिल कार्य ढिलाई

पंखबहादुर शाही ।
सुर्खेत, १० कात्तिक (जागरण) । दशैँतिहार लगतै दैलेखमा सुरु गर्ने भनिएको मुलुककै महत्वपुर्ण योजना पेट्रालियम पदार्थ अन्वेषणको ड्रिल कार्यमा ढिलाई हुने भएको छ ।

ड्रिलका लागि आवश्यक औजारहरु कोरोना भाइरसका कारण भएको बन्दाबन्दीले गर्दा चीनबाट ल्याउन नसकिएकोले काममा ढिलाई हुने भएको हो ।

विगतका अध्ययनले दैलेखमा कच्चा तेल र ग्यास छ भन्ने कुरा देखाइसकेकाले कुनै दुविधा नभएको र आगामी फागुनदेखि काम सुचारु गर्ने तयारी भएको आयोजना प्रमुख एवं खानी तथा भु–गर्भ विभागका उप–निर्देशक सुधीर रजौरेले जागरणलाई बताउनुभयो ।

यसअघि पञ्चकोशी क्षेत्रमा भइरहेका कामहरु अहिले बन्द भएका छन् । कम्पनीले औजार ल्याउने र त्यसपछि मात्र कुन स्थानबाट ड्रिल गर्ने भन्ने पहिचान हुने रजौरेले जानकारी दिनुभयो ।

विभागले गत वर्ष ‘सेस्मिक रेफ्लेक्सन सर्भे’ र ‘म्याग्नेटोटेलुरिक सर्भे’ गरेको थियो । सोही सर्भेका आधारमा ड्रिलको काम गर्न लागिएको हो । यसैगरी, चीनको अध्ययन समूहले अध्ययन प्रतिवेदन तयार गरेको छ ।

छिट्टै उनीहरूले निष्कर्ष दिने विभागले जनाएको छ । ड्रिल ४ दशमलव ५ किलोमिटर गहिराइमा गरिने छ । ड्रिल एक स्थानबाट मात्र नभई विभिन्न स्थानबाट गरिने योजना छ ।

जसका लागि सम्भावित स्थानहरूको पहिचान हुदै छ । चिनियाँ सहयोगअन्तर्गत गर्नुपर्ने काम भने सम्पन्न भएका छन् । उपनिर्देशक रजौरेका अनुसार ड्रिल गर्नुअघि ‘जियोलोजिकल म्यापको अपडेट’ र ‘सेक्सन मेजरमेन्ट’ अन्तर्गत खोलामा गएर चट्टान कति गहिराइमा छ पत्ता लगाउने काम हुनेछ ।

सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेटमा दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण कार्यलाई तीव्रता दिने व्यवस्था गरेको छ ।