तरकारीको मूल्य आकाशिँदो, उपभोक्ता मारमा

पंखबहादुर शाही ।
सुर्खेत, ११ कात्तिक (जागरण) । चाडपर्वको समयमा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा तरकारीको मुल्य आकाशिएको छ । चाडपर्वकै बेला मुल्य बढेपछि उपभोक्ता मारमा परेका छन् ।

तरकारी जस्ता भान्सामा दैनिक चाहिने सामानहरुको मूल्य विशेषगरी दशैँ तिहार जस्ता चाडबाडको समयमा महँगो हुने उपभोक्ताहरुको गुनासो छ ।

वीरेन्द्रनगर नगरपालिका–१० का लक्ष्मि लम्सालले बजारमा तरकारीको मुल्य अस्वभाविक रुपमा वृद्धी भएकाले तरकारी किनेर खान हम्मे–हम्मे परेको बताउनुभयो । लम्सालले आलु, टमाटर, प्याजको मुल्य निकै वृद्धी भएको बताउनुभयो ।

केही दिन अघि तरकारी बजारमा तरकारी किन्न पुग्नुभएका लम्साल प्याजको प्रति केजी ३ सय पर्दा छक्क पर्नुभयो । हाल वीरेन्द्रनगरमा बसोबास गर्दै आउनुभएका दिपक अधिकारीले बजार मूल्यका विषयमा आवश्यक मापदण्ड बनाएर लागू गर्न जरुरी रहेको बताउनुभयो ।

यता, तरकारी व्यवसायीहरुले भने पछिल्लो समय तरकारी विक्रीमा ७५ प्रतिशतले गिरावट आएको बताएका छन् । तरकारी बजारमा अहिले जुम्ला, दैलेख, जाजरकोट र सुर्खेत जिल्ला भित्रकै तरकारी विक्री भइरहेको छ ।