अबैध काठसहित सुर्खेतका १२ जना पक्राउ
सुर्खेत, १५ माघ (जागरण) । प्रहरीले अबैध काठसहित सुर्खेतका १२ जनालाई पक्राउ गरेको छ ।
भेरीगंगा नगरपालिका–१२, मसिनास्थित छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको लु २ ख २१० नम्बर को ट्रकमा अवैधरुपमा काठ लैजाँदै गर्दा एक सय ४७ थान सालको चिरान काठसहित प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
७७ दशमलव ६४ क्यू फिट सालको चिरान काठ विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।
उहाका अनुसार ट्रक चालक भेरीगंगा नगरपालिका–२, सप्तरीका १८ वर्षीय विकास केसी, सोही ठाउँका १३ वर्षीय योगराज बुढा, १२ वर्षीय हिमाल खड्का, १५ वर्षीय मदन भण्डारी, १४ वर्षीय प्रदीप वली र १३ वर्षीय निराजन विकलाई पक्राउ गरिएको छ । साथै २० वर्षीय पदम खत्री, १५ वर्षीय अम्मर डिसी, २२ वर्षीय अनन्त बुढा, २५ वर्षीय तुलबहादुर वली, ३५ वर्षीय सोमबहादुर विक र २० वर्षीय राम वलीलाई पनि पक्राउ गरिएको उहाले बताउनुभयो ।
आवश्यक कारबाहीका लागि छिन्चु वन कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।