अविभेदसम्बन्धी बनेका कानुनहरुको प्रभावकारी कार्यन्वयनमा जोड

सुर्खेत, १५ माघ (जागरण) । अविभेदसम्बन्धी बनेका कानुनहरुको प्रभावकारी रुपमा कार्यन्वयन गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।
आज वीरेन्द्रनगरमा नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सुर्खेतले आयोजना गरेको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
अधिवक्ता शेरबहादुर केसीले जातिय भेदभाव तथा विभिन्न रुपले विभेदमा परेका समुदायलाई न्याय दिन र अगाडी बढाउनका लागि प्रयाप्त कानुनहरु बनेको भएपनि प्रभावकारी रुपमा कार्यान्वयन हुन नसकेको बताउनुभयो ।
त्यस्ता कानुनहरुको पूर्ण कार्यान्वयन गरेमा मात्रे महिला बालबालिका, दलित लगायत पछाडी पारिएका समुदायलाई माथि उठाउन सकिने उहाँको भनाइ छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सुर्खेतका अध्यक्ष रुद्र बहादुर कार्कीले जातिय भेदभाव हटाई अविभेद कायम गर्नका लागि कानुन कार्यान्वयन निकाय गम्भिर हुनुपर्ने बताउनुभयो ।
कानुन प्रायाप्त मात्रामा भएपनि कार्यान्वयनमा सम्बन्धित निकायले चासो नदिदा दलित तथा पछि पारिएको समुदायले न्याय पाउन नसकेको उहाँको भनाइ छ ।
कार्यक्रममा बराहताल गाउँपालिकाका उपाध्यक्ष शोभा कुमारी शर्माले समाजमा व्याप्त भेदभाव हटाउनका लागि स्थानीय तहले पछि परेका समुदायको सशक्तिकरणमा ध्यान दिएको बताउनुभयो ।
उहाँले अविभेदसम्बन्धी बनेका कानुनहरु प्रभावकारी रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाउनुभएको छ ।