रोजगारीका अवसर नहुँदा युवाहरु विदेशिने दर बढ्दो

सावित्रा उपाध्याय ।
सुर्खेत, २१ माघ (जागरण) । प्रदेश र स्थानीय सरकारले युवाहरुको लागि भनेअनुसारको रोजगारी सृजना गर्न नसक्दा कर्णालीबाट बैदेशिक रोजगारमा जानेको संख्यामा वृद्धि भएको छ ।
स्वदेशमा राम्रो रोजगारीको अवसर नहुँदा कर्णालीबाट युवाहरु विदेशिने दर बढेको हो ।
श्रम तथा रोजगार कार्यालय सुर्खेतले दिएको जानकारी अनुसार आर्थिक बर्ष २०७५÷०७६ भन्दा गत आर्थिक बर्षमा विदेशिने युवाहरु दोब्बर रहेको छ ।
आर्थीक वर्ष २०७५÷०७६ मा ९ सय २६ जनाले रोजगार कार्यालय सुर्खेतबाट श्रम स्वीकृती लिएकोमा यो संख्या बढेर गत आर्थिक बर्ष २०७६÷२०७७ मा दुइ हजार २६ जनाले वैदिशिक रोजगारीको लागि श्रम स्वीकृती लिएको कार्यालयका अधिकृत सुनिता दर्लामीले बताउनुभयो ।
उहाले कोरोना महामारीकाबिचमा पनि दुइ सय ११ जना व्यक्तीहरुले श्रम स्वीकृती लिएका छन । स्वदेशमा रोजगारीको सृजना नहुँदा विदेशिने दर पछिल्लो समय बढेको छ ।
श्रम स्वीकृती लिएर जानेमात्र नभई रोजगारीको लागि भारतमा जाने व्यक्तीहरुको संख्या भने एकिन हुँदैन । स्वदेशमै रोजगारीका गतिला अवसरहरु सृजना गर्नुपर्ने भन्दै सरोकारवालाहरुले विदेशमा प्रयोग श्रमलाई नेपालमै प्रयोग गर्नुपर्नेमा जोड दिने गरेका छन ।
यता, कर्णाली प्रदेश सरकारले युवा रोजगारको लागी मुख्य मन्त्री रोजगार कार्यक्रममा जोडिनेगरी अगाडी बढेको बताएको छ ।
कर्णाली का ७९ वटै स्थानीय तह मा यो रोजगार कार्यक्रम सञ्चालन गरिएको भन्दै प्रदेशको समाजिक विकास मन्त्रालयले युवाहरुले विकास निर्माणका क्षेत्रमा आफ्नै ठाउँमा रोजगारी पाइरहेको बताएको छ ।
मन्त्रालयका सुचना अधिकारी सुनिल लिम्बुले रोजगार प्रतिष्ठानको स्थापना हुन केही ढीलाई भएको भन्दै पर्याप्त उद्योगहरु नहुँदा भनेअनुसार रोजगारी सृजना हुन नसकेको कर्णाली रैबारसँग बाउनुभयो ।