दैलेखका ६ स्थानीय तहमा विद्युतीकरणको कामले तिव्रता पाउँदै

दैलेख, २२ माघ (जागरण) । दैलेखका ६ स्थानीय तहले विद्युतीकरणको कार्यलाई तिव्रता दिएका छन ।
११ वटा स्थानीय तह रहेको दैलेखमा ६ वटा स्थानीय तहले सामुदायिक ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत साझेदारीमा काम गर्दै आएका हुन् ।
कार्यक्रमको ९० र स्थानीय तहको १० प्रतिशत लगानीमा भैरवी गाउँपालिकाले १० करोड रुपैयाँको लागतमा काम गर्दै आएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले बताउनुभयो । आगामी असार मसान्तसम्म सम्पूर्ण काम सक्ने लक्ष्य राखिएको अध्यक्ष बुढाको भनाई छ ।
भगवतीमाई गाउँपालिकाले पनि हालसम्म ४० प्रतिशत काम सकिएको बताएको छ । अध्यक्ष दान बहादुर थापाका अनुसार १० करोड रुपैयाँ बजेटमध्ये आठ करोडको लागतमा काम सुरु भई २४ महिनामा सक्नेरी काम अगाडी बढाइएको छ ।
यस्तै, गुराँस गाउँपालिकाले विद्युतीकरणलाई अघि बढाएको छ । २५ करोड रुपैयाँ लागतमा सम्पन्न हुने विद्युतीकरण कर्णाली प्रदेशका १० जिल्लामध्ये धेरै बजेट गुराँसमा रहेको गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले बाताउनुभयो ।
उहाका अनुसार हालसम्म ८० प्रतिशत काम सकिएको छ ।
यता, डुंगेश्वर नौमुले महाबु गाउँपालिकाले पनि विद्युतीकरणको कामलाई तिव्रता दिएको बताएका छन ।