४० बर्षमाथीका नागरिकको बर्षमा एक पटक निशुल्क जाँच गर्ने योजना ल्याँइदै

गोविन्द खत्री ।
सुर्खेत, २३ फागुन (जागरण) । कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काले चिकित्सक र स्वाथ्यकर्मी अभाव नै कर्णाली प्रदेशको स्वास्थ्य क्षेत्रमा सबै भन्दा ठूलो चुनौती रहेको बताउनुभएको छ ।
जागरण एफ एमको साप्ताहिक कार्यक्रम जन जिज्ञासामा कुरा गर्दै निर्देशक डा. खड्काले यस्तो बताउनुभएको हो ।
प्रदेशभरीमा स्थायी दरबन्दीमा चिकित्सकको ८८ प्रतिशत दरबन्दी रिक्त रहेको र १२ प्रतिशत मात्र कार्यरत रहेको उहाँले बताउनुभयो ।
यस्तै भएका जनशक्तिलाई टिकाउन नसक्नु पनि कर्णालीको विडम्बना भएको उहाँको भनाइ छ । प्रदेश सरकारले ल्याएको कर्मचारी प्रोत्साहन कार्यक्रमले केही सहयोग पुगेपनि चिकित्सक अभाव भने नहटेको उहाँले बताउनुभयो ।
स्वास्थ्य उपकरणको कमी हुन र नागरिकमा उपचार गर्नुपर्छ भन्ने जनचेतनाको कमी हुनु पनि कर्णालीको स्वास्थ्य सुधारको चुनौतीका रुपमा रहेको डा. खड्काले बताउनुभयो । कर्णालीका स्वास्थ्य सेवालाई स्तरोन्नती गर्नका लागि दश वटै जिल्लाका जिल्ला अस्पतालहरुलाई ५० शैय्याको बनाउने योजना रहेको उहाँले बताउनुभयो ।
नागरिकहरु अहिले रोग लागेपछि मात्र स्वास्थ्य संस्था आउने गरेको भन्दै समयमै रोग पत्ता लगाउनका लागि ४० बर्ष पुगेका कर्णालीका सबै नागरिकको स्वास्थ्य जाँच निशुल्क गर्ने योजना बनाइएको उहाले बताउनुभयो ।