कर्णालीका वादी समुदाय घर फर्किए

सुर्खेत, ३ चैत (जागरण) । गाडीभाडा नपाएपछि सुर्खेतमै अलपत्र परेका कर्णालीका वादी समुदाय घर फर्किएका छन् ।
१७ दिनसम्म धर्नामा बसेका वादी समुदाय र कर्णाली प्रदेश सरकारबीच आन्दोलन रोक्ने र घर फर्किने पाँच बुँदे सम्झौता भए पनि उनीहरु गाडीभाडा नपाएपछि सुर्खेतमै अलपत्र परेका थिए ।
तर, दुल्लु नगरपालिका दैलेखका नगर प्रमुख घनश्याम भण्डारीले दैलेखसम्म लैजाने गाडीको व्यवस्था गरिदिए पछि घर फर्किएको वादी समुदायका अगुवा हिक्मत वादीले जानकारी दिनुभयो ।
खेती गर्न स्थायी लालपूर्जासहितको जमीन, बस्नका लागि घर र रोजगारीको माग गर्दै उनीहरु फागुन १० देखि वीरेन्द्रनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडिको खुला चौरमा धर्ना बसेका थिए ।
वादी समुदाय र प्रदेश सरकारबीच फागुन २६ गते वादी समुदायका लागि प्रदेश सरकारले केन्द्र सरकारसँग जग्गा माग गरिदिने, १० लाखसम्मको निर्व्याजी ऋणको व्यवस्था गर्ने, प्रदेश सरकारले तीन सदस्यीय कार्यदल गठन गर्ने लगायतका पाँच बुदे सहमति भएको थियो ।