सुर्खेत, ८ बैशाख (जागरण) । दोस्रो चरणको कोरोनाको संक्रमण फैलिन थालेपछि सुर्खेतमा पनि कडाई शुरु गरिएको छ ।
आज जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना नियन्त्रणका लागि केही कडाई गर्ने निर्णय गरेको छ ।
संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको संयोजकत्वमा बसेको बैठकले कोरोना नियन्त्रणका लागि विभिन्न १५ बुँदे निर्णयहरु गरेको हो ।
निर्णय अनुसार कोरोना जोखिम बढेकोले अव कुनै पनि सार्वजनिक समारोहमा २५ जनाभन्दा बढी सहभागी हुन पाइने छैन ।
मेला, महोत्सव, जात्रा, पर्व, विवाह, न्वारन, पास्नी, ब्रतवन्ध, धार्मिक अनुष्ठान, मलामी लगायतका अत्यावश्यक परम्परागत धार्मिक तथा सांस्कृतिक क्रियाकलापहरु संचालन गर्दा २५ जनाभन्दा बढी नहुने, विवाह वा ब्रतवन्धका लागि पार्टी प्यालेस प्रयोग गर्नुपर्ने भएमा जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने निर्णय गरिएको छ ।
यसैगरी होटल तथा रेष्टुरेन्टहरु जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी विहान ८ बजे देखि साँझ ८ बजेसम्म सेवा दिनुपर्ने, रेष्टुरेन्टका कामदारहरुले अनिवार्य रुपमा मास्क भाइजर र पन्जा लगाउनुपर्ने निर्णय गरिएको छ ।
यस्तै वीरेन्द्रनगर नगरपालिका क्षेत्रभित्र (विद्यालय, कलेज ट्यूशन सेन्टर, तालिम केन्द्र)मा २०७८ बैशाख मसान्तसम्म भौतिक रुपमा उपस्थिति नभई अन्य वैकल्पिक शिक्षण विधिबाट शैक्षिक गतिविधि संचालन गर्ने र अन्य पालिकाको हकमा संक्रमणको दर र जोखिमलाई मध्यनजर गरी सम्वन्धित पालिकाले व्यवस्था मिलाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी रिजालले बताउनुभयो ।
सार्वजनिक यातायात संचालन गर्दा सिट क्षमताभन्दा बढी यात्रु नराख्ने, मास्क अनिवार्य रुपमा प्रयोग गर्ने, सवारी साधनको ढोकामा र सवारी साधनभित्र सेनिटाइजको व्यवस्था गर्नुपर्ने छ ।