
माघ १, काठमाण्डौ । विशेष महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको विवरण अध्यावधिक गर्न सभापति गगन थापासहितका नेताहरू निर्वाचन आयोग पुगेका छन् । सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मासहितको टोली आयोग पुगेको हो ।
यसअघि बिहान बसेको बैठकले आयोगमा विवरण अद्यावधिक गर्ने निर्णय गरेको थियो । पार्टीको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएकाले कागजात अद्यावधिक गर्नेलगायतका कार्यका लागि टोली आयोग पुगेको हो ।
कांग्रेस विशेष महाधिवेशनले गएराति थापाको नेतृत्वमा पदाधिकारी र केन्द्रीय समिति सर्वसम्मत चयन गरेको थियो । आयोगले उनीहरूको निवेदन स्वीकार गरेर अद्यावधिक गरेमा उनीहरू वैधानिक रूपमा नेपाली कांग्रेस हुनेछन् ।
यस्तै नयाँ कार्यसमितिको आजको बैठकले देवराज चालिसेलाई प्रवक्ता नियुक्त गरेको छ । प्रवक्ता चालिसेका अनुसार बैठकले आउँदो चुनाव केन्द्रित घोषणापत्र तयार पार्न सभापति थापाकै नेतृत्वमा चुनावी घोषणापत्र लेखन समिति र उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा चुनाव परिचालन समिति गठन गर्ने निर्णय गरेको गरेको छ ।
