पार्टी विरोधी गतिविधिमा नलाग्न एमाले हुम्लाको आव्हान

कालि बहादुर थापा ।
हुम्ला, १४ जेठ (रेडियो श्रीनगर) । नेकपा एमाले हुम्लाले पार्टी विरोधी गतिविधिमा नलाग्न नेता तथा कार्यकर्तालाई आव्हान गरेको छ ।
एमालेका केही नेता र कार्यकर्ता नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चालगायत विपक्षी गठबन्धनसँगको साँठगाँठमा लागेपछि एमाले हुम्लाका अध्यक्ष दल रावलले विज्ञप्ति जारी गरी यस्तो आव्हान गर्नुभएको हो ।
प्रतिनिधिसभा विघटन विरुद्ध विपक्षी दलहरुसँग मिलेर एमालेको नाममा हस्ताक्षर गरेको प्रति संकेत गर्दै अध्यक्ष रावलले पार्टीको नाममा बदनाम गराउने पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
कर्णाली प्रदेश सरकारका पुर्वमन्त्री समेत रहनुभएका अध्यक्ष रावलले जनचाहना विपरित विपक्षी पार्टीहरुको गठबन्धनमा लागेर काम नगर्न सचेत गराउनु भएको छ ।
यसअघि एमालेको तर्फबाट भन्दै पार्टी सचिव तिर्थराज रोकायाले विपक्षीहरुको समूहमा सहभागिता जनाएपछि पार्टीले विज्ञप्ति निकालेको छ ।

हेर्नुहोस् विज्ञप्ति