कर्णाली प्रदेश सरकारमा काँग्रेस सहभागी, श्रेष्ठ र विसी मन्त्री नियुक्त

सुर्खेत, २३ जेठ, (जागरण) ।

नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली प्रदेश सरकारमा नेपाली काँग्रेस पनि सहभागी भएको छ ।

काँग्रेसका दिन बन्धु श्रेष्ठ र यज्ञबहादुर विसीले आज मन्त्रीको सपथ लिनुभएको हो । मुख्य मन्त्री शाहीले शनिबार पुर्नगठन गरेको मन्त्री परिषद्मा गरी श्रेष्ठलाई जलस्रोत तथा उर्जा विकास मन्त्री र विसीलाई सामाजिक विकास मन्त्रीमा नियुक्त गर्नुभएको थियो । नव नियुक्त दुई जना मन्त्रीहरुलाई प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले आज पद तथा गोपनियताको सपथ खुवाउनु भएको हो ।
नेकपा एमालले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री शाहीलाई गत बैशाख ३ गते प्रदेशसभामा काँग्रेसले शाहीको पक्षमा मतदान गरेको थियो । त्यसको करिब दुई महिनापछि मात्रै काँग्रेस सरकारमा सहभागी भएको छ । काँग्रेसले दुई वटा मन्त्रालय माग गरेकोमा मुख्यमन्त्रीले सामाजिक विकास मन्त्रालयमात्र भाग लगाएपछि काँग्रेस सरकारमा सहभागी भएको थिएन् । पछि दुई वटा मन्त्रालय दिने भनेपनि मुख्य मन्त्री शाहीले हाल भैरहेका मन्त्रालय फुटाएर काँग्रेसलाई दिने मन्त्रालयको अधिकार क्षेत्र खुम्चाउन खोजेपछि त्यसमा काँग्रेसले आपती जनाउँदै आएको थियो ।
मुख्यमन्त्री शाहीले गत बैशाख २९ गते भौतिक पूर्वाधार मन्त्रालयबाट टुक्राएर जल स्रोत तथा उर्जा विकास मन्त्रालय र बनाउनुभएको थियो । भने सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको युवा तथा खेलकुद सम्बन्धीको अधिकारलाई आन्तरिक मामिला मन्त्रालय अन्तर्गत राख्नुभएको थियो । सामाजिक विकास मन्त्रालयबाट आन्तरिकमा राखिएको युवा तथा खेलकुद विभागलाई सामाजिक अन्तर्गत नै ल्याएपछि काँग्रेस सरकारमा सहभागी भएको हो ।

काँग्रेसबाट दुई जना मन्त्री भएसंगै प्रदेश सरकारको मन्त्रीमण्डलले पूर्णता पाएको छ । यस अघि सात मन्त्रालय रहेको कर्णाली प्रदेशमा अब भने ८ वटा मन्त्रालय भएका छन् ।
यसअघि सात वटा मन्त्रालय रहेकोमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एक वटा नयाँ मन्त्रालय थप गर्नु भएको हो ।
सरकार टिकाउन आफ्नो पक्षमा मतदान गरेको काँग्रेसले दुई मन्त्रालय मागेपछि मुख्यमन्त्री शाही मन्त्रालयको संख्या थपेर आठ पु¥याउनुभएको हो । भौतिक पूर्वाधार मन्त्रालयबाट टुक्राइएर जलस्रोत तथा उर्जा विकास मन्त्रालय थप गरिएको हो ।
नयाँ मन्त्रालयको रुपमा थप भएको जलस्रोत तथा उर्जा विकास मन्त्रालयमा काँग्रेसका दिनबन्धु श्रेष्ठ नियुक्त हुनुभएको छ । पदभार ग्रहणगरेपछि मन्त्री श्रेष्ठले कर्णाली प्रदेशको समृद्धिको मुख्य आधार उर्जा भएको भन्दै उर्जा विकासबाट प्रदेशको समृद्धि ल्याउनका लागि योजना बनाउने बताउनुभयो । मन्त्री श्रेष्ठले हालसम्म भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत रहेको विभाग हुँदा के कति काम भएका छन त्यसको अध्ययन गरेर आगामी आर्थिक बर्षका लागि योजना बनाउने बताउनुभएको छ ।
यस्तै नव नियुक्त सामाजिक विकास मन्त्री यज्ञ बहादुर विसीले पहिलो निर्णयका रुपमा कोरोना बिरुद्धको खोप लगाउनका लागि प्रदेशका दश वटै जिल्लाका स्वास्थ्यकर्मीहरुलाई तालित दिने तथा तयारी गर्ने निर्णयमा हस्ताक्षर गरेर गर्नुभएको छ । मन्त्री विसीले संघीय सरकारले खोप पठाउन लागेकाले स्वास्थ्यकर्मीहरुलाई त्यससम्बन्धी तयारी अवस्थामा राख्न तालिम दिने तथा जिल्ला स्तरमा खोप लगाउनक लागि प्रबन्ध मिलाउने निर्णय गरिएको बताउनुभयो ।