लगातारको वर्षाका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा धनजनको क्षती

सुर्खेत, ४ असार (जागरण) । लगातारको वर्षाका कारण कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा क्षती पुगेको छ ।
जुम्लाको पातारासी गाउँपालिका–२ मा पहिरोमा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
पाटनतिर जडीबुटी संकलनका लागि गएका चार जना पहिरोमा परेका र एक जनाको मृत्यु भएको जनाइएको छ ।
पहिरोमा परी मृत्यु हुनेमा अन्दाजी ३४ वर्षीया सुकवीर नेपाली रहेका र घाइते हुनेमा महिला तारा नेपाली रहेको जुम्ला प्रशासनले जनाएको छ । अन्य घाइतेको विवरण खुल्न सकेको छैन ।
उनीहरूको उद्धारका लागि हिजो नै गृह मन्त्रालयमा पत्र पठाएको भए पनि खराब मौसमका कारण सेनाको हेलिकप्टर जान नसकेको जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले कर्णाली रैबारलाई जानकारी दिनुभयो ।
यस्तै, अविरल वर्षाका कारण डोल्पाको ठूलीभेरी नगरपालिका–६ दुरगाउँस्थित खोलामा काठेपुलसहित पानी घट्ट बगाएको छ । घट्ट बगाएसँगै करिब ३५० घरधुरीले अन्न कुटानी, पिसानी गर्न मुस्किल परेको स्थानीयबासी लक्ष्मी कार्कीले जानकारी दिनुभयो ।
त्यस्तै, दुरगाउँकै हिमालय आधारभूत विद्यालयको भवन पहिरोले भत्काएको छ । वडा नं ६ कै यार्सागुम्वा संकलन गर्ने रुपपाटनमा लिएका २० गाई, गोरु मरेका छन् ।
यता ठूलीभेरी नगरपालिकाले भने जुफालबाट दुनै जाने सडकको बीचमा रहेको खोलामा पानीको मात्रा बढेका कारण अस्थायी रुपमा हालिएको काठेपुलमा क्षति भई समस्या भएको नगरप्रमुख गणेशबहादुर शाहील जानकारी दिनुभयोे ।
यस्तै, तीन दिनदेखिको परेको अविरल वर्षाका कारण दैलेखको दुल्लु नगरपालिकामा आठ घर भत्किएका छन् ।
जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार वर्षाका कारण घर भत्किँदा मानवीय क्षति भने नभएको जनाएको छ । जिल्ला प्रशासन कार्यालय दैलेखले एक विज्ञप्ति जारी गर्दै वर्षा पश्चात् आउन सक्ने बाढी पहिरोबाट जिल्लाभरका सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै पानी दैलेखमा परेको छ ।
यस्तै यता सल्यान प्रहरीले पहिरोका कारण क्षति भएका ४ वटा गाडि निकालेको छ । केही दिन यताको अबिरल बर्षा र त्यपछि आएको पहिरोका कारण सल्यानको कपुरकोट गाउपालिका ३ बसेरा स्थित सल्यान–दाङ सडकखण्डमा आज बिहान आएको पहिरोले पार्किङ गरेर राखेका ४ वटा गाडीमा क्षती गरेको थियो ।