जीवन सुरक्षा कोष कार्यक्रम प्रभावकारी बन्दै, बालबालिकाको भविश्यमा सरकार र अविभावक सँगसँगै


टेकराज केसी ।

सुर्खेत, १५ असोज (जागरण) । दैलेख गुराँस गाउँपालिकाले बालबालिकाको लागि संचालन गर्दै आएको जीवन सुरक्षा कोष कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
यस कार्यक्रमप्रति नागरिकको आकर्षण बढेको हो । कार्यक्रमले बालबालिकाको भविश्यलाई सहज बनाउन खोजेको भन्दै नागरिकहरुको आकर्षण बढेको हो ।
गरिबीकै कारण शिक्षा, स्वास्थ्यको पहुँचबाट वञ्चित नहुन् भन्नका लागि बालबालिकामैत्री कार्यक्रम सञ्चालन गरेको नागरिकमा जानकारी हुँदै गएपछि यो कोषको दायरा फराकिलो बन्दै गएको छ ।
अभिवावकहरु आफ्ना छोराछोरीको कोषमा रकम जम्मा गर्न उत्साहित भएका हुन ।
गाउँपालिका वडा नम्बर २ का ललिता गुरुङ्गले पालिकाबाट बालबालिकाको भविश्य पढाईमा सहज हुने कार्यक्रम रहेको भन्दै आफ्नो छोरालाई जीवन सुरक्षा कोषमा आवद्ध बनाएर रकम जम्मा गरिदिएको कर्णाली रैबारलाई बताउनुभयो ।
उहा मात्र होइन गाउँपालिका वडा नम्बर १ खड्कवाडाका राम बहादुर खड्काले पनि आफ्नो छोरीको जीवन सुरक्षा कोषमा रकम जम्मा गरिदिएको बताउनुभयो । यो कार्यक्रमप्रति सबै अविभावको आकर्षण बढेको समेत उहाको भनाई छ ।
यो कार्यक्रमको बारेमा वडा नम्बर २ दुवाडीका सावित्रा गुरुङ्गलाई थाहा थिएन । बालबालिकाको लागि जीवन सुरक्षा कोष नामक कार्यक्रम र यसमा जम्मा गरिने थाहा पाएपछि दशैँसम्म आफ्नो छोरीको कोषमा रकम जम्मा गरिदिने योजना बनाएको बताउनुभयो ।
यता, गाउँपालिकाले २०७४ साल साउन १ गतेभन्दा पछाडी जन्मिएका बालबालिकाको लागि यो कार्यक्रम लागु गरिएको बताएको छ । यसको लागि अविभावकले चार हजार र गाउँपालिकाले १० हजार एउटा बालकको नाममा रकम उक्त कोषमा जम्मा गरिने गरिएको गाउँपालिका अध्यक्ष खेमराज ओलीले जानकारी दिनुभयो ।
सरकारले पनि आप्नो नागरिकको आर्थिक सुरक्षाको जिम्मेवारी लिनु पर्ने भन्दै अध्यक्ष ओलीले एउटा बालबालिका वयस्क उमेरमा पुग्दा त्यही रकमबाट शिक्षा दिक्षा प्राप्त गर्ने बताउनुभयो ।

यो कार्यक्रमलाई अझै फराकिलो बनाउँदै गरिबीको रेखामुनी बाच्नुपर्ने बाध्यता हट्ने उहाको भनाई छ । जम्मा भएको रकम प्रत्येक वडाका महिला सहकारीहरुले उद्यम गर्नेहरुलाई सस्तो व्याजमा ऋण दिने गरेका छन । २० बर्षपछि एकजना बच्चाले करिब एक लाख रकम पाउने पनि जनाइएको छ । अहिलेसम्म यो कार्यक्रममा १२ सय जना बालबालिका अवद्ध भइसकेका छन ।