कर्णालीका हिमाली जिल्लाहरुमा पहुँचवालाको कब्जामा हवाई टिकट

सुर्खेत, १० कात्तिक (जागरण) । नियमित सडक सञ्चालन नहुने कर्णालीका हिमाली जिल्लाहरुमा पहुँच र पावरवालले मात्रै हवाई टिकट पाउने गरेको नागरिकहरुले गुनासो गरेका छन ।
सडक सञ्जालहरु पुगेपनि यातायातको विकल्पमा प्लेनलाई रहेको ति जिल्लाहरुमा पहुँच र पावरको भरमा टिकट दिइने भएपछि सामान्य नागरिकहरुलाई सास्थी भएको हो ।
जिल्ला अस्पताल हुम्लाबाट सिफारिस गरी स्टेचरमा बोकेर सिमकोट विमानस्थलमा पुर्याइएका एक जना बिरामीले उपचारका लागि जिल्ला बाहिर जाने टिकट नपाउँदा विमानस्थलबाटै फिर्ता भएर सिमकोटमा रोकिनुपरेको छ ।
टिकट नपाए पछि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ प्युस घर भएका ६० वर्षीय वीरजित शाही उपचारमा जान पाउनु भएन ।
शाहीले टिकट पाए पनि कुरुवाले टिकट नपाएपछि हुम्ला विमानस्थलबाट फर्किन बाध्य भएको उहाँका छोरा दीर्घ शाहीले बताउनुभयो ।
यसैबीच, विद्यार्थी, बिरामी, काम विशेषले जिल्ला बाहिर जाने यात्रुले हप्तौँ दिनदेखि निजी हवाई सेवा कम्पनीका कार्यालय धाउँदा पनि टिकट नपाएको गुनासो गरेका छन् ।
नेपालगञ्ज, सुर्खेतबाट उडान भर्दै आएका निजी हवाई कम्पनीले नियमित उडान नभर्दा यात्रुले सास्ती खेप्नुपरेको छ ।
दशैँ मनाएर काठमाण्डौ, नेपालगञ्ज, सुर्खेत, पोखरालगायत सहरमा अध्ययन गर्न जाने विद्यार्थी हुम्लामै अलपत्र परेका छन् ।
हप्ता दिनसम्म धाउँदा पनि टिकट नपाएको सिमकोट गाउँपालिका–२ का दीपेन्द्र बोहराले गुनासो गर्नुभयो । पहुँचवालाले सहजै टिकट पाउने गरेका उहाँको गुनासो छ । यता, डोल्पा बिमान स्तलमा पनि नागरिकहरुले यस्तै सास्थी भोग्नु परेको छ ।
जहाज चढ्न ‘पावर’ लगाउनु पर्ने सकसबाट डोल्पा आवतजावत गर्ने यात्रु वर्षौदेखि मारमा हुन् । टिकट पाउन ठूलै ‘पावर’ चाहिने हुँदा पीडा मात्रै हुने त्रिपुरासुन्दरी नगरपालिकाका विशाल उपाध्यायले बताउनुभयो ।