काङ्ग्रेस महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी

काठमाडौं, १ पुष (जागरण) । नेपाली काङ्ग्रेसको १४औँ महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्मा महामन्त्रीमा विजयी भएका छन् ।
मतगणनामा अन्तिम चरणमा पुग्दा उनीहरू दुवैजना गणना गर्न बाँकीभन्दा बढी मतान्तरले अन्य प्रतिस्पर्धीभन्दा अघि भएपछि विजय निश्चित भएको हो ।
खसेको जम्मा ४ हजार ६ सय ७९ मतमध्ये ४ हजार ३ सय ९० मत गणना हुँदा गगनले २ हजार ८ सय २३ मत ल्याएका छन् ।
विश्वप्रकाश शर्माले १ हजार ८ सय २४, प्रकाशशरण महतले १ हजार ४ सय ५५, प्रदीप पौडेलले १ हजार ३ सय ३, मिनेन्द्र रिजालले ७ सय ५३ र राजाराम कार्कीले एक सय मत ल्याएका छन् ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान साढे १० बजे मतगणना सुरु भएको हो ।
महामन्त्रीमा कसले बाजी मार्ला भन्ने अहिले आमचासो विषय थियो । सभापतिपछि सबैभन्दा बढी आमचासो भएको पद हो महामन्त्री । काङ्ग्रेसका दुई महामन्त्रीमा छ जनाबीच प्रतिस्पर्धा थियो ।
महामन्त्रीमा पार्टी सभापति शेरबहादुर देउवा प्यानलबाट प्रकाशरण महत र प्रदीप पौडेल उम्मेदवार थिए । शेखर कोइराला प्यानलबाट गगन थापा र मिनेन्द्र रिजाल थिए भने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रकाशमान सिंहको प्यानलबाट उम्मेदवारी दिँदा राजाराम कार्कीले विमेलेन्द्र निधीको पक्षबा उम्मेदवारी दिनुभएको थियो ।
नेता कृष्णप्रसाद सिटौला समूहबाट देउवाले प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवार बनाएपछि विश्वप्रकाशले देउवा क्याम्पबाट ‘आउट’ भएर उम्मेदवारी दिनुभएको हो ।
महाधिवेशनका कुल चार हजार सात सय ४३ प्रतिनिधिमध्ये चार हजार छ सय ७९ मत खसेको छ ।
सभापति र उपसभापतिको मतगणना यसअघि नै सम्पन्न भएको छ ।
सभापतिमा शेरबहादुर देउवा र दुई उपसभापतिमा पूर्णबहादुर खड्का तथा धनराज गुरुङ निर्वाचित भइसकेका छन् ।