वीरेन्द्रनगर र युवा सशक्तिकरण परियोजना संगसंगै काम गर्ने

जागरण संवाददाता
सुर्खेत, ८ पुस ।
वीरेन्द्रनगर नगरपालिकाले किशोर किशोरी तथा युवा सशक्तीकरण  परियोजनासंग मिलेर उद्येश्य मिल्ने कार्यक्रम संग संगै गर्ने बताएको छ ।
परियोजनाले सन २०२२ मा सञ्चालन गर्ने गतिविधिका बारेमा छलफल गर्न बिहीबार आयोजना गरिएको सल्लाहकार समितिको बैठकमा परियोजना र नगरपालिकाका मिल्ने गतिविधिमा संग संगै काम गर्ने बताइएको हो । समाज जागरण केन्द्र (स्याक) नेपालले संचालन गरेको उक्त परियोजनामार्फत आर्थिक अभावमा विद्यालय बाहिर रहेका बालबालिकालाई शैक्षिक सहयोगसँगै निम्न वर्गका युवाहरुलाई उद्यमी बनाइने जनाइएको छ । परियोजना अन्तर्गत जनसेवा मावि घुस्रा, शिव मावि लाटीकोइली, श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्राम र अमरज्योति मावि नेवारेमा अध्ययनरत बालबालिकाहरुलाई शैक्षिक सहयोग गरिने परियोजनाका संयोजक तेज सोनामले बताउनुभयो ।
उहाँका अनुसार वीरेन्द्रनगरका ४० जना युवाहरुको लागि व्यवसायिक तालिम संचालन गर्ने, व्यवसायिक बनाउन विभिन्न आर्थिक र प्राविधिक सहयोग गरिने छ। यस्तै किशोर किशोरीमैत्री बनाउन स्वास्थ्य संस्थाहरुलाई पनि सहयोग गरिने संयोजक सोनामले बताउनुभयो ।
निमित्त प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र प्रसाद शर्माले विद्यालयमा नमूना काम गर्न सुझाव दिनुभयो । स्याक नेपालका सदस्य नवराज खड्काले नगरपालिकाले दिएका सुझाव अनुसार परियोजनालाई अगाडी बढाउने बताउनुभयो । परियोजना सुर्खेतको वीरेन्द्रनगर र बराहताल गाउँपालिकामा लागू भएको छ ।