सुर्खेत, १८ पुष । कर्णाली प्रदेशमा ७३ हजार ७ सय ५८ बालबालिकालाई कोरोना विरुद्धको खोप दिइएको छ ।
प्रदेशका १० जिल्ला १ लाख ५४ हजार ८ सय ७२ बालबालिकालाई खोप दिने लक्ष्य रहेको छ । जस मध्य ५० प्रतिशत बालबालिकालाई खोप लगाइएको हो ।
स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका अनूसार कर्णालीका सुर्खेत बाहेक, दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा बालबालिकालाई मोडर्ना खोपको पहिलो मात्रा दिन थालिएको छ । त्यसमध्ये सबै भन्दा धेरै सल्यानका १७ हजार ९ सय ७४ र सबै भन्दा कम कालिकोटका १ हजार १ सय ५४ जना १२ देखि १७ वर्षसम्मका बालबालिकाले खोप लगाएका निर्देशनालयका सूचना अधिकारी पदम केसी कर्णाली रैबारलाई जनाकारी दिनुभयो ।
यस्तै रुकुम पश्मिचममा १६ हजार ९ सय ३३, दैलेखमा १० हजार ७ सय ४१, जाजरकोटमा ११ हजार ६ सय दुई, मुगुमा ४ हजार ६ सय ४५, हुम्लामा ४ हजार ८ सय १०, जुम्लामा ३ हजार एक सय ९७, डोल्पामा दुई हजार ७ सय ४२ बालबालिकालाई खोप दिइएको छ । कर्णालीका केही जिल्लाहरुमा ढिलोगरी खोप सुरुभएकाले विद्यालय नजाने र छुटेका बालबालिकालाई १४ गते पछि पनि खोप दिइने सूचना अधिकारी केसी बताउनुभयो ।
निर्देशनालयका अनुसार पुस १४ गते भोलीसम्म पहिलो मात्रा र दोस्रो मात्रा माघ २ देखि १० गतेसम्म लगाइने छ । सुर्खेतमा भने यही उमेर समूहका २ हजार ९८ बालबालिकालाई कोरोना भाइरसविरुद्धकै ‘फाइजर’ खोपको पहिलो मात्रा दिइएको छ ।