नेकपा एमाले जिल्ला अधिवेशनः कर्णालीका चार जिल्लामा सर्बसम्मत नेतृत्व चयन, तिन जिल्लामा भने निर्वाचन हुँदै

सुर्खेत, २६ पुष (जागरण) । कर्णाली प्रदेशका चार जिल्लामा नेकपा (एमाले) को नयाँ नेतृत्व चयन भएको छ । आठौं जिल्ला अधिवेशनअन्तर्गत प्रदशेका १० जिल्लामध्ये हालसम्म सल्यान, डोल्पा, जुम्ला र रुकुम पश्चिममा मुख्य पदमा नेतृत्व चयन भएको हो ।
अधिवेशन चलिरहेका बाँकी चार जिल्लामध्ये सुर्खेतमा निर्वाचनबाट नेतृत्व चयन हुने भएको छ । सुर्खेतमा भोली बिहान ९ बजेदेखि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
दैलेख र जाजरकोटमा पनि निर्वाचन हुने संकेत देखिएको एमाले प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले जानकारी दिनुभयो ।
उनका अनुसार डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा, सल्यानमा गोविन्दकुमार पुन, जुम्लामा शान्तिलाल महत र रुकुम पश्चिममा नन्दराम देवकोटा चयन हुनुभएको छ । यी जिल्लाहरूमा सर्वसम्मत अध्यक्ष चयन भएको उहाले बताउनुभयो ।
दैलेखमा पनि केही पदमा मात्र निर्वाचन हुने भएको छ । उपाध्यक्ष सहित जिल्ला कमिटि सदस्य पदमा निर्विरोध निर्वाचित भएका छन् ।
एमाले दैलेखको उपाध्यक्षमा नन्दकिशोर बस्नेत निर्विरोध निर्वाचित भएका छन् । जिल्ला अधिवेशनबाट उनि निर्विरोध उपाध्यक्षमा निर्वाचित भएको निर्वाचन कमिटिका प्रमुख निर्वाचन अधिकृत हिमालयजंग शाहले बताउनुभयो ।
अन्य पदमा भने दैलेखमा निर्वाचन हुने भएको जनाइएको छ । जाजरकोटमा पनि निर्वाचनबाटै नेतृत्व चयन गर्ने तयारी गरिएको छ ।
कालीकोटमा भने शनिबारबाट मात्र अधिवेशन सुरु भएकोले नेतृत्व चयनमा केही समय लाग्ने भएको छ ।
कर्णालीका आठ जिल्लामा मात्र जिल्ला अधिवेशन भएको छ भने बाँकी रहेका दुई जिल्ला मुगुमा भोली र हुम्लामा माघ २३ गते अधिवेशन हुने भएको छ ।
प्रदेश राजधानीको जिल्ला सुर्खेतको नेतृत्व चयनका लागि भने निर्वाचन नै हुने भएको हो ।
सर्वसम्मतिको प्रयास गरिएपनि सहमति जुट्न नसकेपछि निर्वाचनमार्फत नेतृत्व चयन गर्न लागिएको निर्वाचन समितिका सदस्य गंगराम तिमिल्सेनाले जानकारी दिए ।
उनका अनुसार जिल्ला नेतृत्वका लागि नेताहरू अमृत बिसी र डण्डिप्रसाद शर्माबीच प्रतिस्पर्धा हुने भएको छ ।
चुनावी प्रतिस्पर्धाका लागि दुवैजनाले आ–आफ्नो प्यानलसहित उम्मेदवारी दिएका छन् ।
बिसीको प्यानलबाट उपाध्यक्षमा कुलमणि देवकोटा उम्मेदवार बनेका छन् । सातौं जिल्ला अधिवेशनमा बिसीसँगै उपाध्यक्षमा पराजित भएका उहा यसपटक भने बिसीकै प्यानलबाट उपाध्यक्षको उम्मेदवार बन्नुभएको हो ।
बिसी प्यानबाट सचिवमा कवीन्द्रकुमार केसी, उपसचिवमा घनश्याम पाण्डे र बलबहादुर नेपाली उम्मेदवार बन्नुभएको छ ।
शर्मा प्यानलबाट उपाध्यक्षमा ऋषि गिरी र सचिवमा रेशम राना मगर छन् । उपसचिवमा नेत्रलाल महतारा र टीकाराम सुवेदी उम्मेदवार बन्नुभएको छ ।
पाँच सदस्यीय पदाधिकारीमा १० जनाको उम्मेदवारी परेको निर्वाचन कमिटीले जनाएको छ । आठौं जिल्ला अधिवेशनसम्म आइपुग्दा एमाले सुर्खेतभित्रको समूह समीकरण फेरबदल भएको छ ।