एमाले जिल्ला अधिवेशन : चार जिल्लामा सहमतीमा नेतृत्व चयन, सुर्खेत, दैलेख र जाजरकोटमा निर्वाचन

जागरण संवाददाता
सुर्खेत,  २६ पुस।
कर्णाली प्रदेशका चार जिल्लामा नेकपा (एमाले) को नेतृत्व सहमतीमा चयन भएको छ । आठ जिल्लामा भैरहेको अधिवेशनबाट सल्यान, डोल्पा, जुम्ला र रुकुम पश्चिममा मुख्य सहमतीमा नेतृत्व चयन भएको हो ।
डोल्पाको अध्यक्षमा शेरबहादुर बुढा, सल्यानमा गोविन्दकुमार पुन, जुम्लामा शान्तिलाल महत र रुकुम पश्चिममा नन्दराम देवकोटा चयन भएका छन् । कर्णालीका बाँकी रहेका दुई जिल्ला मुगुमा मंगलबार र हुम्लामा माघ २३ गते अधिवेशन हुने एमाले प्रदेश कमिटिले जनाएको छ ।
सुर्खेतमा भोली मतदान हुने
नेकपा एमाले सुर्खेत जिल्ला कमिटि चयनका लागि भोली (मंगलबार) मतदान हुने भएको छ।
शुक्रबारदेखि जारी आठौँ अधिवेशनबाट जिल्ला कार्यसमिति चयनका लागि मतदान हुने भएको हो । बिहान ९ बजेदेखि ४ बजेसम्म मतदानको लागि समय निर्धारण गरिएको निर्वाचन मण्डलका प्रवक्ता एवं अधिवक्ता रामबावु विसीले जानकारी दिए । उनका अनुसार एक सय पाँच पदका लागि एक सय ८३ जनाको उमेद्वारी परेको छ । अध्यक्षमा अमृत कुमार विसी र डण्डिप्रसाद शर्मा, उपाध्यक्षमा कुलमणि देवकोटा र ऋषि गिरी, सचिवमा कविन्द्र कुमार केसी र रेशम राना मगर तथा उपसचिवमा घनश्याम पाण्डे, बलबहादुर नेपाली, नेत्रलाल महतारा र टिकाराम सुवेदी उमेद्वार छन् । पाँच पदाधिकारीमा दश तथा एक सय सदस्यका लागि एक सय ७३ जना उमेद्वार छन् । उमेद्वारी दर्ताको काम आइतबार नै सकिएपनि सोमबार दिनभर दाबि बिरोधमा लागेको छ । निर्वाचन समितिले अन्तिम नामावली प्रकाशन गर्दै मतदानका लागि थप तयारीमा जुटेको जनाएको छ । निर्वाचनमा जिल्लाभरबाट आएका छ सय ६५ प्रतिनिधिले मतदान गर्ने छन् ।

दैलेखमा उपाध्यक्ष निर्विरोध अन्य पदका लागि निर्वाचन
नेकपा एमाले दैलेखको उपाध्यक्ष बाहेकका पदमा मतदान हुने भएको छ । उपाध्यक्षमा भने नन्दकिशोर बस्नेत निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका खड्गराज उपाध्यायले उम्मेदवारी फिर्ता लिएसँगै बस्नेत निर्विरोध निर्वाचित चयन भएका हुन् ।
अध्यक्षमा रविन्द्रराज शर्मा र सूर्यबहादुर शाही उमेद्वार छन् । अध्यक्ष पदका लागि सुरुमा छ जनाको उम्मेदवारी परेको थियो । सूर्यबहादुर शाही, धीरबहादुर शाही, शुसिल थापा र कर्णबहादुर खड्काले उमेद्वारी फिर्ता लिएका छन् ।
यस्तै सचिवमा रुद्धबहादुर शाही र तिलक प्रसाद रिजालबीच चुनावी प्रतिस्पर्धा हुनेभएको छ । उपसचिवमा गंगाराम दाहाल, चन्द्रप्रसाद दाहाल, जनक न्यौपाने, कविराज खत्री, प्रेमबहादुर खड्का, विष्णुबहादुर शाही, लोकेन्द्रजंग शाही, कलावती न्यौपाने र लक्ष्मीकुमारी कार्कीको उम्मेदवारी छ । शुक्रबारबाट सुरु भएको सातौँ जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन हुन नसकेपछि मतदान हुन लागेको हो । मंगलबार विहान आठ बजेदेखि जिल्ला सदरमुकाम स्थित कबर्ड हलमा मतदान हुने निर्वाचन समितिले जनाएको छ ।
जाजरकोटमा मतदान जारी
नेकपा (एमाले ) जाजरकोटमा नेतृत्व चयनका लागि मतदान भैरहेको छ । निर्वाचन समितिका अनुसार राती आठबजेसम्म मतदानको समय तोकिएको छ ।
अध्यक्षमा करवीर शाही र खिमबहादुर शाही विच प्रतिस्पर्धा छ । उपाध्यक्ष गोपाल बटाला र नवराज सिंह, सचिवमा बीर बहादुर गिरी र नरबहादुर खत्री, उपसचिवमा गोपाल बहादुर नेपाली, नरबहादुर बस्नेत, गणेश प्रसाद उपाध्याय र रामबहादुर शाही उमेद्वार छन् । जाजरकोटमा ४ सय ३७ प्रतिनिधि रहेका छ्न् ।
कालिकोटमा बन्दसत्र चल्दै
शनिबारदेखि सुरु भएको एमाले कालिकोटको जिल्ला अधिवेशनमा बन्द सत्र चलिरहेको छ । सहमतीमा कमिटि चयनका लागि नेतृत्वले प्रयास गरेपनि आकांक्षी धेरै हुँदा निर्वाचनमै जाने संभावना देखिएको छ ।