कर्णाली प्रदेशमा विकिरण सुरक्षा सम्बन्धि तालिम शुरु

सुर्खेत, २७ पुष (जागरण) । कर्णाली प्रदेशमा विकिरण सुरक्षा सम्बन्धि तालिम शुरु भएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तरगत एक्सरेमा काम गर्ने स्वास्थ्यकर्मीहरुको लागि दुइदिने तालिम आजबाट प्रदेश राजधानी सुर्खेतमा शुरु भएको हो ।
तालिममा कर्णालीका विभिन्न स्वास्थ्य क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मी र यससँग सम्बन्धित व्यक्तीहरु सहभागी भएका छन ।
तालिमको उद्घाटन कार्यक्रममा बोल्दै कर्णाली प्रदेशका प्रमुख सचिव राज कुमार श्रेष्ठले स्वास्थ्य क्षेत्रमा पछिल्लो समय भित्रिएका प्रविधिहरुले सेवा संचालन गर्न सहयोग पुगेको बताउनुभयो ।
उहाले स्वास्थ्य क्षेत्रको सुध्रिदो अववस्था र नविनतम प्रविधिको विकाससँगै जोखिमका बीच काम गर्ने रेडियोग्राफरले आफु र प्यासेन्टलाई विकरणबाट जोगाउन सुरक्षा सावधानी अपनाउनु पर्ने बताउनुभयो ।
कार्यक्रममा बोल्दै सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण प्रसाद कार्पीले स्थानीय तहसम्म नै रेडियो धर्मी सम्बन्धी तालिम आवश्यक रहेको भन्दै स्थानीय तहसम्म नै विकिरणको बारेमा जानकारी आवश्यक रहेको बताउनुभयो ।
प्रदेश अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले अहिले सानो अस्पतालहरुमा समेत एक्सरेहरु हुन थालेको भन्दै विशेष गरेर स्वास्थ्यकर्मी विकिरणका बारेमा जानकार हुन सक्नुपर्ने र यो तालिमले सिकाई प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
खड्काले एक्सरे सिटि स्क्यान जस्ता मेसिन चलाउँदा आफ्नो र प्यासेन्टको स्वास्थ्यको विशेष ध्यान दिएर सजगता अपनाउन आग्रह गर्नुभयो ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका उपसचिव प्रलाहत पोख्रेलले पछिल्लो समय नविनतम प्रविधिको प्रयोगसँगै त्यसमा हुने विकिरण सुरक्षा सम्बन्धी जानकार बनाउन तालिम सबै प्रदेशमा संचालन गर्न थालिएको जानकारी दिनुभयो ।