वीरेन्द्रनगरका युवाहरुको शिक्षा, स्वास्थ्य र आयआर्जनमा काम गर्दै पावर परियोजना


सुर्खेत, ९ माघ ।
पावर परियोजनाले वीरेन्द्रनगरका किशोर किशोरीहरुको शिक्षा, स्वास्थ्य, तथा आयआर्जनका लागि विभिन्न गतिविधि गर्ने भएको छ ।
सेभ द् चिल्ड्रेनको साझेदारीमा समाज जागरण केन्द्र (स्याक) नेपालले सञ्चालन गरिरहेको पावर परियोजनाले सन् २०२२ मा सञ्चालन गर्ने गतिविधिका बारेमा जानकारी दिई सुझाव लिनका लागि आइतबार आयोजना गरेको बैठकमा यस्तो जानकारी दिइएको हो । विद्यालय छाडेका तथा छाड्न सक्ने ३५ जना विधार्थीलाई सहयोग गर्ने परियोजनाको लक्ष्य छ । ५३ जना युवाहरुलाई उद्यम विकास तालिम दिइने र त्यस मध्य ३३ जनालाई उद्यम सञ्चालनका लागि सहयोग गरिने परियोजनाका संयोजक तेज सोनामले जानकारी दिनुभयो ।
यस्तै २० जना युवाहरुलाई व्यवसायीक सिप विकास तालिम दिइ व्यवसाय सञ्चालनका लागि सहयोग गर्ने परियोजनाको लक्ष्य छ । उहाँका अनुसार विद्यालय र समुदायमा सफलताको लागि जिवन उपयोगी सिप कक्षा संचालन गर्नुका साथै शिक्षकहरुलाई उपचारात्मक कक्षा संचालन सम्वन्धि तालिम पनि दिइने छ । अपांगता भएका व्यक्तिहरुको विवरण अध्यावधिकगरी उनीहरु लक्षित कार्यक्रम सञ्चालन गर्नका लागि अपांगताका क्षेत्रमा काम गर्ने संस्थालाई सहयोग गर्ने पनि कार्यक्रम रहेको संयोजक सोनामले जानकारी दिनुभयो । यस्तै ढिलो विवाहको फाइदा, जिवन उपयोगी सीप, यौन प्रजन्न स्वाथ्य सम्वन्धि जनचेतना मुलक कार्यक्रम पनि आयोजना गरिनेछ । किशोर किशोरी तथा युवाहरुको यौन प्रजन्न स्वास्थ्य सेवा प्रदानका लागि स्वास्थ्य संस्थालाई सामाग्री सहयोग गर्ने र स्थानीय सरकारको समन्वयमा विद्यालयको खानेपानी सरसफाई संरचना निर्माण र मर्मतमा सहयोग गरिने छ । वीरेन्द्रनगर ७ को श्रीकृष्ण संस्कृत तथा साधारण मावि इत्राम, ९ को शिव मावि लाटिकोइली, १० को जनसेवा मावि घुस्रा र १२ को अमरज्योति मावि नेवारेमा परियोजना लागू गरिएको छ । यीनै विद्यालयमा ९ देखि १२ कक्षासम्म अध्ययनरत विद्यार्थी र उनीहरुका परिवारका सदस्यहरुलाई परियोजनाले प्राथमिकता दिने जनाइएको छ ।
परिचयात्मक बैठकमा वीरेन्द्रनगर नगरपालिकाका जनप्रतिनिधि र विषयगत शाखा प्रमुखहरुले परियोजनासंग उद्देश्य मिल्ने गतिविधिहरुमा साझेदारी गर्ने प्रतिबद्धता जनाएका छन् । नगर उपप्रमुख मोहनमाया ढकालले नगरपालिकाका गतिविधि र कार्यक्रमसंग मिल्दा जुल्दा गतिविधिमा परियोजनासंग साझेदारी गरेर अघि बढन्े बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत हरि देवकोटाले परियोजनाका र नगरपालिकाको कतिपय उद्देश्य मिल्ने भन्दै उपलब्धी हाँसिल गर्नका नगरपालिकाबाट गर्नुपर्ने आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो ।
समाज जागरण केन्द्र स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले परियोजनाले पनि नगरपालिकाका कार्यक्रम र लक्ष्यमा सहयोग पु¥याउने बताउँदै उद्देश्य मिल्ने कार्यक्रममा सहकार्यका लागि अपिल गरे । कार्यक्रममा सेभ द चिल्ड्रेनका पावर परियोजना संयोजक प्रतिभा कुँवरले नगरपालिकाले दिएका सुझावहरुलाई सकेसम्म कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाउनुभयो । स्याक नेपालका कार्यसमिति सदस्य नवराज खड्काले कार्यक्रमको उद्देश्य पूरा गर्नका लागि नगरपालिका र संस्थाबीच सहकार्य गरेर अघि बढ्ने बताउनुभयो ।
बैठकमा परियोजनाका अनुगमन तथा मुल्यांकन अधिकृत कृष्ण कंडेलले स्याक नेपालले कार्यक्रमको गुणस्तरीयता र जवाफदेहिताको पाटोलाई उच्च प्राथमिकता दिँदै आएको बताउँदै कार्यक्रमप्रति आम नगरिकले सल्लाह सुझाव एवं गुनासा राख्न सक्ने जानकारी गराउनुभएको थियो ।