राष्ट्रियसभा निर्वाचनः कर्णालीमा गठबन्धनका उमेद्वार बिजयी, ३ मत बदर


जागरण संवाददाता
सुर्खेत, १२ माघ ।
राष्ट्रिय सभा सदस्यमा कर्णाली प्रदेशबाट सत्तारुढ गठबन्धनका उमेद्वार बिजयी भएका छन् ।
आज सम्पन्न राष्ट्रिय सभाका सदस्य निर्वाचनमा संयुक्त गठबन्धनका दुर्गा गुरुङ, नरबहादुर बिष्ट र उदय बोहोरा बिजयी भएका हुन् । कर्णालीमा महिला, अपांगता भएका व्यक्ति वा अल्पसंख्यक र अन्य तर्फगरी तीन वटा कलस्टरका तीन सीट का लागि निर्वाचन भएको थियो । महिला तर्फ नेपाली काँग्रेसकी गुरुङ, अपांगत्ता वा अन्य तर्फ माओवादी केन्द्रका बिष्ट र अन्य तर्फ एकीकृत समाजवादीका बोहोरा निर्वाचित भएको प्रदेश निर्वाचन अधिकारी दुर्गा प्रसाद चालिसेले जानकारी दिए । उनका अनुसार गुरुङले २ हजार ९७० तथा बिष्ट र बोहोरा समान ३ हजार ६ मतभार प्राप्त गरेका छन् ।
निर्वाचनमा सत्ता गठबन्धनका संयुक्त उमेद्वार तीन र एमालेका तीन जना उमेद्वारले भाग लिएका थिए । एमालेबाट महिला तफए गंगा थापा (महत), अपाङ्गगता भएका व्यक्ति वा अल्पसंख्यकतर्फबाट पदमबहादुर माझी र अन्य तर्फ चुडामणि शर्मा उमेद्वार थिए । माझीले १ हजार ३ सय ९८ तथा महत र शर्माले समान १ हजार ४ सय ६ मतभार प्राप्त गरेका छन् । अपांग तर्फको १ मत र महिला तर्फको २ मत बदर भएको निर्वाचन अधिकारी चालिसेले जानकारी दिए । उनका अनुसार बदर भएका तीन वटै मत स्थानीय तहका प्रमुख उपप्रमुख तर्फका हुन् ।
कर्णालीमा १ सय ९१ मतदाता संख्या रहेकोमा १ सय ८९ जनाले मतदान गरेका छन् । प्रदेशसभाका ३५ र गाउँपालिका तथा नगरपालिकाका प्रमुख उपप्रमुख १ सय ५६ मतदाता रहेका थिए । त्यस मध्य राप्रपाकी प्रदेशसभा सदस्य शोशिला शाही र कालिकोटको तिलागुफा नगरपालिकाकी उपप्रमुख दन्ता नेपाली (दर्शना) मतदानमा अनुपस्थित रहेको प्रदेश निर्वाचन कार्यालय सुर्खेतले जनाएको छ । आफ्ना उमेद्वार नउठाएको राप्रपाले मतदानमा सहभागी नहुने निर्णय गरेको थियो भने उपप्रमुख नेपाली दुई बर्षअघि अमेरीका गएर उतै बसेकी छन् ।
प्रदेश निर्वाचन कार्यालयमा दुई वटा मतदान केन्द्रबाट विहान ९ बजेदेखि ३ बजेसम्म मतदान भएको थियो । प्रदेशसभा सदस्यहरुका लागि मतदान केन्द्र ‘क’ र नगरपालिका तथा गाउँपालिका अध्यक्ष उपाध्यक्षका लागि मतदान केन्द्र ‘ख’ बनाइएको थियो ।