मानव बेचबिखन तथा ओसार पसार रोक्न हातेमालो गरौँः सरोकारवाला

टेकराज केसी ।
सुर्खेत, ४ फागुन (जागरण) । मानव बेचबिखन तथा ओसार पसार रोक्न सचेतना गाउँ गाउँसम्म फैलाउन कर्णालीका सरोकारवालाहरुले जोड दिएका छन ।
नेपाल कानुन समाज कर्णाली प्रदेशले आज आयोजना गरेको भच्र्यौल अन्तरक्रियामा आफ्ना धाराणा राख्दै उनिहरुले सचेतनाका कार्यक्रमहरुलाई व्यापक रुपमा संचालन गर्नुपर्नेमा जोड दिएका हुन ।
यसको लागि तल्लो तहको सरकारलाई नै जिम्मेवार बनाउनुपर्ने भन्दै यस सम्बन्धी पाठ्यक्रममा नै समावेश गर्नुपर्नेमा उनिहरुको जोड छ ।
कार्यक्रममा बोल्दै मध्यपश्चिम विश्वविद्यालय पूर्व डिन तथा नागकि समाजका अगुवा पिताम्बर ढकालले मानव बेचविखन तथा ओसार पसार रोक्न सबै नीकाय एकतावद्ध भएर सचेतनाका कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिए ।
सिमान्तकृत महिलाहरुका लागि महिला संस्था वामका कार्यकारी निर्देशक मधुरानी ढकालले पनि मानव बेचबिखनका घटनाहरु भएपनि बाहिर नआएको भन्दै यस सम्बनधीका घटनाहरु भित्रभित्रै बढेको बताइन । उनले भनिन, ‘सुर्खेतमा पनि मानव बेचबिखन धेरै हुने गरेका छन । तर त्यस्ता घटना बाहिर आउँदैनन, केही बर्ष अगाडी सुर्खेतमा एउटा घटना भएको थियो, एकजना महिलालाई ललाई फकाई गरेर लगिएको रहेछ, तर घर परिवारले बाहिर भनेका थिएनन, पछि त्यस विषयमा सोधखोज संघ संस्थाहरुले गरेपछि मात्रै त्यो घटना बाहिर आयो, एउटा घटनामा संलग्न एउटा समुह नै रहेछ ।’
कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम एसएसपी राजेन्द्र सिंह खड्काले कामको प्रलोभन देखाएर, बिवाह गरेको नाटक गरेर मानव बेचविखन तथा ओसारपसारका घटनाहरु भइरहेको बताए ।
मानव बेचबिखन रोकथामको लागि गरिबी, बेरोजगारी समस्या रोकथामका गर्न आवश्यक रहेको भन्दै खड्काले चेतनामुलक कार्यक्रम पनि सँगै लिएर जानुपर्नेमा जोड दिए । ‘हामी सबै हातेमालो गरेर मानव बेचविखन तथा ओसारपसारका विरुद्ध लागौँ, उनले भने ।’
यसैबिच, प्रमुख जिल्ला अधिकारीहरुले पनि सचेतनाका कार्यक्रमलाई जोड दिएका छन ।
दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले गरिबी अशिक्षा र बेरोजगारी समस्या नै मानव बेचबिखनको मुल जड भएको बताए ।
सचेतनामुलक कार्यक्रम संचालन गरेर यस्ता घटना कम गर्न सकिने भन्दै बेरोजगारी समस्या र गरिबी न्युनिकरणमा सबै नीकायले ध्यान दिनुपर्ने उनले बताए ।
जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेम देवकोटाले पनि कर्णाली प्रदेशको सबै जिल्लाहरुमा मानव बेचविखनको उच्च जोखिममा रहेको बताउँदै प्रहरी, प्रशासन र सरकारले संयुक्त रुपमा सचेतनाका कार्यक्रमहरु संचालन गर्नुपर्नेमा बताए ।
कालिकोट प्रमुख जिल्ला अधिकारी राम हरी शर्माले अशिक्षा र गरिबीसँगै बेरोजगारी समस्याले मानव बेचबिखनलाई मलजल गरिरहेको बताए । उनले भने, ‘तुलनात्मक रुपमा कालिकोटमा मुद्धा कम देखिएपनि मानव बेचविखनको जोखिममा भने समग्र कर्णाली रहेको छ, उनले थपे ‘समाजमा जागरणका कार्यक्रम संचालन गर्न सबै नीकाय जिम्मेवार हुनुपर्ने देखिन्छ ।’
यस्तै, डोल्पाका प्रमुख जिल्ला अधिकारी वेधनीधि अधिकारीले नीतिगत रुपमा कडाई गर्नुपर्ने भन्दै विशेषगरी भारतसँग जोडिएका सिमा नाकाहरुमा कडाई गर्नुपर्नेमा जोड दिएका छन ।
भच्र्यौल बैठकमा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुले पनि आफ्नो भनाई राखेका थिए ।
ऐन संशोधन गर्न आवश्यक
मानव बेचबिखन तथा ओसार पसार सम्बन्धी ऐन संशोधन गर्नुपर्ने कानुविदहरुले बताएका छन ।
जिल्ला सरकारी वकिल कार्यालयका सुर्खेतका उप न्याधिवक्ता नरेन्द्र लम्साललेस्थानीय तहसम्म नै ऐनको कार्यान्वयन गर्न सकेको खण्डमा मानव बेचविखन कम गर्न सकिने बताए । उनले ऐनमा भएका केही व्यवस्थाहरु समेत सच्याउन आवश्यक रहेको औल्याए ।
जिल्ला न्यायधिवक्ता कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले पनि आफ्नो भनाई राख्दै कानुन कार्यान्वयनमा जोड दिएका छन ।
उनिहरुले ऐनमा भएका केही व्यवस्थाहरु संशोधन गरेर लैजानुपर्नेमा जोड दिएका छन ।
महान्याधिवक्ताको कार्यालयका सह न्याधिवक्ता लोकराज पराजुलीले पनि मानव बेचबिखन तथा ओसार पसार सम्बन्धिका ऐन संशोधन आवश्यक रहेको बताउनुभयो ।
कोभिड संक्रमणको जोखिमका कारण भच्र्यौल रुपमा कार्यक्रम आयोजना गरिएको भन्दै अधिवक्ता एवम नेपाल कानुन समाज नागरिक सम्बाद कर्णाली प्रदेशका प्रमुख रामबाबु विसीले आगामी दिनमा यस सम्बन्धीका कार्यक्रमलाई अझै व्यापक गराइने जानकारी दिए ।