आज प्रजातन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइंदै

सुर्खेत, ७ फागुन (जागरण) । आज प्रजातन्त्र दिवस । विभिन्न कार्यक्रम गरी देशभर मनाईदै छ । दिवसका अवसमा राष्ट्रपति, प्रधानमन्त्री र कर्णाली प्रदेश प्रमुख, मुख्यमन्त्री लगायतले शुभकामना सन्देश दिएका छन ।
यसैबिच, प्रजातन्त्र दिवसको अवसर पारेर कर्णालीका मुख्यमन्त्रीदेखि मन्त्रीहरू बिहानै सरसफाइ कार्यक्रममा जुटेका छन् ।
उनीहरूले वीरेन्द्रनगरकै पर्यटकीय स्थल सहिद पार्कमा गएर सरसफाइ कार्यक्रम गरेर प्रजातन्त्र दिवस मनाएका हुन् ।
सहिद पार्क पछिल्लो समय टिकटक र सामाजिक सञ्जालमा भाइरल स्थल हो । कर्णाली प्रदेश सरकारले शुक्रबारदेखिनै विविध कार्यक्रम गर्दै आएको छ । जस अन्तर्गत आज दोस्रो दिन सरसफाइ कार्यक्रम गरिएको हो ।
वीरेन्द्रनगरको वीरेन्द्रचोकदेखि त्यो स्थल झण्डै एक किलोमिटर उत्तरतर्फ पर्दछ । सरसफाइ कार्यक्रममा मुख्यमन्त्री जीवनबहादुर शाही, भौतिक पुर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकाया, सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसी, जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंह नेपाल प्रहरी, आर्मी लगायतको सहभागिता रहेको थियो ।
मुख्यमन्त्री शाहीले प्रजातन्त्र दिवसको अवसरमा मुलुकको आर्थिक तथा सामाजिक रूपान्तरण नै जनताको चाहना भएको उल्लेख गरेका छन् ।
यो सहिद पार्क कर्णाली प्रदेश प्राप्तिका लागि आन्दोलनमा ज्यान गुमाउनेहरूको नाममा बनाइएको हो ।
भैरव सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष अमर कार्की भन्छन्, ‘आन्दोलनमा हाम्रो वडाका दुई जना (गोपाल रजवार, टिकाराम गौतिक)ले ज्यान गुमाउनुभएको छ । वनको साधारण सभाबाटै हामीले उहाँहरूको नाममा सहिद पार्क बनाउने घोषणा गरेका थियौँ ।’
कर्णाली सरकारले प्रजातन्त्र दिवस ०७८ लाई ६, ७ र ८ गते विभिन्न कार्यक्रम गरेर मनाउने निर्णय गरेको थियो ।