स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा प्रमुख राजनैतिक दलहरु गाउँ केन्द्रीत, उमेद्वाराका आकांक्षी पनि बढ्दै

सुर्खेत, ४ चैत (जागरण) । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै गर्दा प्रमुख राजनैतिक दलका नेतादेखि कार्यकर्ता सम्मले मतदातालाई आफ्नो पकडमा राख्न, छलफल, अन्र्तक्रियालाई तिव्रता दिएका छन ।
७९ वटा बडा रहेको कर्णाली प्रदेशमा विशेषगरी नेकपा एमाले, नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र सहितका नेता तथा कार्यकर्ता गाउँ केन्द्रीत बन्न थालेका हुन ।
प्रत्येकले व्यक्ति समुदाय र बस्ती केन्द्रीत छलफल, अन्र्तक्रिया, अनुशिक्षण र गोप्य भेटघाटलाई दलहरुले तिब्रता दिएका छन् ।
प्रदेश राजधानी सुर्खेतमा दिनहुजसो राजनितिक कार्यक्रमहरु बाक्लिन थालेका छन । दलहरु निर्वाचनलाई आफ्नो पोल्टामा पार्नेगरी अभियान नै शुरु गरेका छन । नेपाली काँग्रेसले घर घर जाउँ काँग्रेसलाई जिताउ अभियान संचालन गरिसकेको छ भने नेकपा एमालेले पनि आफ्ना सांसदहरुलाई गाउँ जान निर्देशन दिइसकेको छ । यता, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादी पार्टीले पनि विभिन्न प्रशिक्षण तथा भेटघाटलाई तिव्रता दिएका छन ।

यसैबिच, स्थानीय तह चुनावको मिति नजिकिँदै गर्दा सम्भावित उम्मेदवारहरूको चर्चा हुन थालेको छ ।
कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकामा अन्यत्रभन्दा राजनीतिक सरगर्मी बढी छ ।
वीरेन्द्रनगरलाई हाँक्न अब कस्तो नेतृत्व आउनुपर्छ भन्ने विषयमा जनतामा छलफल हुन थालेको छ भने राजनीतिक दलभित्र उम्मेदवार हुन नेताहरूले लबिङ सुरु गरेका छन् ।
वीरेन्द्रनगरमा अहिले प्रमुख नेपाली कांग्रेसबाट तथा उपप्रमुख नेकपा एमालेबाट निर्वाचित छन् ।
उपप्रमुखसहित बहुमत वडामा एमालेका उम्मेदवारले जित्दा कांग्रेसबाट प्रमुखमा निर्वाचित भएका देवकुमार सुवेदी नदोहो¥याउने पक्षमा हुनुहुन्छ ।
कांग्रेसबाट विष्णु खड्का, उपेन्द्र खड्का, नारायण कोइराला र चन्द्र थानी मेयरका आकांक्षी देखिएका छन् । विष्णु खड्का जिल्ला उपसभापति तथा उपेन्द्र खड्का नगरसभापति हुनुहुन्छ भने भने कोइराला पनि मेयरका बलिया उमेद्वार हुनुहुन्छ ।
उम्मेदवारको चर्चामा रहेका खड्काद्वय संस्थापन पक्षका हुन् भने कोइराला र थानी संस्थापनइतर पक्षका हुनुहुन्छ । नगर सभापती खड्काले आफु नगर सभापती भएको नाताले टिकट पाउने दाबी गर्नुहुन्छ भने कोइरालाले सबैलाई मिलाएर लिने क्रममा आफुले टिकट पाउने बताउनुभयो ।
एमालेबाट अहिले उपप्रमुख रहेकी मोहनमाया ढकाल मेयर लड्ने योजनामा हुनुहुन्छ । गत निर्वाचनमा मेयरका उम्मेदवार बालाराम शर्मा पराजित हुँदा ढकालले भने लोकप्रिय मत ल्याएर निर्वाचित हुनुभएको थियो ।
उपप्रमुख भएर काम गरिसकेको अनुभव, विगतमा प्राप्त गरेको जनविश्वास र पार्टीमा गरेको योगदानलाई आधार मानेर आफूलाई टिकट दिने विश्वास रहेको ढकालले बताउनुभयो ।
यद्यपि उम्मेदवारका विषयमा अहिले नै पार्टीमा छलफल भइनसकेको उहाको भनाइ छ ।
उहा पार्टीको केन्द्रीय सदस्य एवं सुर्खेत जिल्ला सहइन्चार्ज पनि हुनुहुन्छ । एमालेले आफ्नो ‘लालकिल्ला’ ठान्ने वीरेन्द्रनगरमा मेयरका आकांक्षी भने धेरै छन् । एमाले सुर्खेतका उपाध्यक्ष कुलमणि देवकोटा, सचिवालय सदस्यहरू पूर्ण पौडेल, हरिहरनाथ योगी, गंगाराम तिमिल्सेना, नगर कमिटी अध्यक्ष नीलकण्ठ खनाल पनि आकांक्षी रहेका छन् ।
नेकपा माओवादी केन्द्रमा पनि यसपटक मेयरका आकांक्षी धेरै देखिएका छन् । यसअघिको निर्वाचनमा मेयर लडेका नगर कमिटी अध्यक्ष रत्न गाहा नै दोहोरिने माओवादीमा चर्चा छ ।
यस्तै, उपप्रमुखका उम्मेदवार प्रदेश कमिटी सदस्य हरिमाया शर्मा, प्रदेश कमिटी सदस्य दानसिं परियार, वडा नं. १४ का अध्यक्ष टोपबहादुर दर्लामीको पनि चर्चा छ ।