कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयन निराशाजनक

सुर्खेत, १० असार (जागरण) । चालु आर्थिक वर्षको ११ महिनामा कर्णाली प्रदेश सरकारको बजेट कार्यान्वयन निराशाजनक देखिएको छ ।
जेठ अन्तिमसम्ममा प्रदेश सरकारले कुल विनियोजित बजेटको ३० प्रतिशत मात्र विकास वजेट खर्च गरेको हो । चालु आर्थिक वर्ष सकिनै लाग्दा सरकारले लक्ष्य अनुरुप खर्च गर्न सकेको छैन् ।
गत आर्थिक वर्षको जेठ मसान्तसम्म २१ दशमलव २१ प्रतिशत वजेट खर्च भएको थियो । चालु आर्थिक वर्ष २०७८÷०७९ को कुल ३६ अर्ब ५७ करोड ९७ लाख ७१ हजार बजेट मध्ये जेठ मसान्तसम्म ३० दशमलव २१ प्रतिशत अर्थात् ११ अर्ब ५९ करोड ९६ लाख ६१ हजार ३ सय २१ दशमलव ५८ रुपैयाँ खर्च भएको छ । जसमा चालुतर्फ वार्षिक वजेट १४ अर्व ६८ करोड ४१ लाख ६९ हजार ८ सय रहेकोमाजेठ मसान्तसम्म ५ अर्ब ५६ करोड ३९ लाख ४३ हजार ७ सय ८५ रुपैयाँ खर्च भएको छ ।
यस्तै, पूँजीगततर्फ २४ अर्ब ३२ करोड ७७ लाख १७ हजार ३ सय २ रुपैयाँ वार्षिक वजेट रहँदा खर्च भने ६ अर्ब ३५ करोड ७१ लाख७ हजार ३ सय २ रुपैयाँ खर्च भएको छ । मन्त्रालयगत खर्चको विवरण हेर्ने हो भने सबैभन्दा बढि आर्थिक मामिला तथा योजना मन्त्रालयले खर्च गरेको छ ।
यता, प्रदेश सरकारले भने वजेट खर्च गत वर्षहरुको भन्दा सुधारोउन्मुख भएको जनाएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म प्रदेश सरकारको वजेट खर्च गत वर्षहरुको भन्दा सुधारोउन्मुख भएको कर्णाली सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री विन्दमान विष्टको दावी छ ।