
सुर्खेत, २९ असार ।
कर्णाली प्रदेश प्रहरी कार्यालय प्रमुख डिआइजी पोषराज पोख्रेलले हाल नेपालगञ्जबाट सञ्चालन भैरहेका कर्णाली प्रदेश प्रहरी मातहतका कार्यालयहरु कर्णालीमा ल्याउन प्राथमिकता दिने बताउनुभएको छ ।
कर्णाली प्रदेश प्रहरी कार्यालयको प्रमुखमा एक साता अघिआउनुभएका डिआइजी पोख्रेलले आज पत्रकारहरुसंगको भेटघाटनमा यस्तो बताउनुभएको हो । प्रदेश प्रहरी मातहतमा रहेका प्रहरी तालिम केन्द्र, कुकुर शाखा, संघीय प्रहरी इकाई, ड्रग शाखा र दंगा नियन्त्रण प्रहरी कार्यालय हाल लुम्बिनी प्रदेशको नेपालगञ्जमा रहेका छन् ।
तालिम केन्द्र कर्णालीमा नुहँदा प्रहरीको तालिम नेपालगन्जमै हुँदै आएका छन् । यस्तै संघीय प्रहरी इकाई, ड्रग शाखा र दंगा नियन्त्रण प्रहरी कार्यालय पनि नेपालगन्जबाट नै सञ्चालन छन् । कुकुर शाखा पनि उतै हुँदा कर्णालीमा हुने अपराधको अनुसन्धानमा प्रहरीले तालिम प्राप्त कुकुर कोहलपुरबाट ल्याउनुपर्ने बाध्यता अझै छ । जसले गर्दा अपराधको अनुसन्धानमा ढिलाइ हुने गरेको सुरक्षा निकायका अधिकारीहरुले बताउने गरेका छन् ।
प्रदेश बाहिर कार्यालय हुँदा जनशक्ति परिचालनमा समस्या हुने भन्दै डिआइजी पोख्रेलले आफ्नो कार्याकालमै ती कार्यालय प्रदेशभित्र सार्ने योजना बनाएको जानकारी दिनुभयो । कार्यालय सार्नका लागि प्रदेशसरकारबाट पनि उपयुक्त साथ पाउने अपेक्षा गरेको उहाँले बताउनुभयो । यस्तै उहाँले कर्णालीको शान्ति सुरक्षालाई चुस्त दुरुस्त बनाउनका लागि प्रहरीसंगै सबै सरोकारवालाहरुको महत्वपूर्ण भूमिका हुने भएकाले हातेमालो गर्न आग्रह गर्नुभयो । अनुमति नलिइ ग्रामिण सडकहरुमा सवारी चलाउने गरेको, ट्राफिक प्रहरीले आर्थिक लाभ लिएर नियमनमा फितलो गर्ने गरेको, लागू औषधको समस्या बढ्दै गएको, महिला हिंसा, बालविवाह, जातिय विभेद लगायतका घटनामा प्रहरीले तदारुकता नदेखाएको लगायतका विषय पत्रकारहरुले उठाएका थिए । ती विषयलाई समाधन गरेर अगाडी बढ्ने डिआइजी पोख्रेलले प्रतिबद्धता जनाउनुभएको छ ।

