दलहरुलाई उमेद्वार सिफारिसकाे चटाराे

जागरण
सुर्खेत, १९ भदौ ।
मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा दलहरु उम्मेदवार छनौटमा जुटेका छन् ।
पार्टिका सम्बन्धित कमिटिहरुबाट उमेद्वार सिफारिस गरि माथिल्लो कमिटिमा पठाउने काममा दलहरु जुटेका हुन् । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै पटक हुने हुँदा उमेद्वार सिफारिस पनि सोही अनुसार गरिएको छ । टिकटको अन्तिम टुंगो लागि नसकेको भएपनि कुन नेता प्रदेश वा संघमा कहाँ सिफारिस भयो सोही ठाउँबाट निर्वाचन लड्ने कुरा भने पक्का हो । त्यसैले कर्णालीका कुन कुन नेताहरु कहाँबाट चुनाव लड्दैछन भन्ने चासो मतदातामा बढेको छ ।
नेपाली काँग्रेसका उपसभापति पूर्ण बहादुर खड्का प्रतिनिधिसभा तर्फ सुर्खेत १ बाट एकल सिफारिस हुनुभएको छ । यस्तै नेकपा एमालेका स्थायी कमिटि सदस्य यामलाल कंडेल प्रदेशसभामा चुनाव लड्ने हुनुभएको छ । उहाँलाई एमालेले सुर्खेत २ क बाट एकल सिफारिस गरेको हो । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही हुम्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा दुबैमा एक्लै सिफारिस हुनुभएको छ । नेकपा समाजवादीका उपमहासचिव प्रकाश ज्वाला सल्यानबाट प्रतिनिधिसभाका लागि सिफारिस हुनुभएको छ ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काँग्रेसले पूर्व मन्त्री हृदयराम थानीसहित चार जनाको नाम सिफारिस गरेको छ । क्षेत्र नम्बर २ मा थानीसहित श्याम भारती, निरञ्जन केसी र कलम बहादुर खत्रीलाको नाम सिफारिस गरेको नेपाली काग्रेस क्षेत्रिय कार्यसमितिले जनाएको छ ।
यता, एमालेले निर्वाचन क्षेत्र नम्बर १ क बाट ठम्मर विष्ट र ख बाट खड्क खत्रीलाई सिफारिस गरेको छ । नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा तर्फ सुर्खेत १ मा सिता नेपाली र २ मा झक बहादुर मल्ललाई सिफारिस गरेको छ । प्रदेशसभा तर्फ १ ख मा कर्णाली प्रदेशका उपाध्यक्ष कृष्ण जिसी र २ क मा रत्न गाहालाई सिफारिस गरेको छ ।