एमाले अध्यक्ष ओलीले कर्णालीका विभिन्न जिल्लामा आज सम्बोधन गर्दै

सुर्खेत । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली आइतबार कर्णालीका विभिन्न जिल्लामा सम्बोधन गर्दै हुनुहुन्छ ।
आसन्न मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरी एमालले कर्णालीका तीन जिल्लामा आयोजना गरेको बृहत जनसभालाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली कर्णालीमा आउनुभएको हो ।
उहा अहिले कालिकोटमा आयोजना गरिएको कार्यक्रममा सम्बोधन गर्न पुग्नुभएको नेकपा एमालले जनाएको छ ।
कालिकोटपछि उहाँले दैलेखको सभालाई सम्बोधन गरेर सुर्खेतमा आयोजना गरिएको सभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको नेकपा एमाले कर्णाली प्रदेशले जनाएको छ ।
एमाले सुर्खेतका सचिवालय सदस्य एवम् प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाका अनुसार सुर्खेतमा आयोजना हुने जनसभाको सम्पूर्ण तयारी पूरा भएको छ ।
मंगलगढीचोकबाट बिहान ११ बजे ¥याली निकालिने एमाले सुर्खेतले जनाएको छ । जनसभामा चर्चित लोक गायक बद्री पंगेनीसहितका कलाकारको सांस्कृतिक प्रस्तुतिसमेत समेत रहने छ ।
एमाले स्थायी कमिटी सदस्य एवम् सुर्खेत क्षेत्र नं. २ ‘क’ प्रदेशसभा सदस्यका उम्मेदवार यामलाल कँडेललगायतका नेताहरूले जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।