‘सुरक्षित महिनावारी सम्बन्धी जनचेतनामूलक अभियान आवश्यक’


सुर्खेत, २७ मंसिर ।
वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले मर्यादित महिनावारी सुरक्षित गर्भपतनका विषयमा अभियान सञ्चालन गर्ने बताउनुभएको छ ।
मंगलबार वीरेन्द्रनगरमा आयोजित एक कार्यक्रममा बोल्दै नगरप्रमुख ढकालले महिलाको स्वास्थ्य प्रवद्र्धनका लागि यस्तो अभियान आवश्यक रहेको बताउनुभएको हो । वियोङ वेइजिङ कमिटिको आयोजनामा भएको छलफल कार्यक्रममा किशोरीहरुले महिनावारीका समयमा अझै पनि समस्या झेल्नु परेको विषय उठेको थियो । साथै वीरेन्द्रनगरमा असुरक्षित गर्भपतनको अवस्था विकराल रहेको विभिन्न क्षेत्रका सहभागीहरुले बताएका थिए । वीरेन्द्रनगर नगरअस्पतालमा कार्यरत नर्स विष्णु गुरुङ्गले महिलाहरुले निजी क्लिनिकहरुमा असुरक्षित रुपमा गर्भपत गराउनेहरुको उल्लेख्य संख्या रहेको पाइएको बताउँदै नगरपालिका अन्तर्गतका सुरक्षित गर्भपतन गराउने स्वास्थ्य संस्थाहरुको संख्या बढाउनुपर्नेमा जोड दिनुभयो । यस्तै कार्यपालिका सदस्य यमूना नेपालीले गर्भपतनले महिलाहरुको स्वास्थ्य अवस्था जोखिममा पर्ने भन्दै गर्भपतन गर्न नपर्ने अवस्थाका लागि जनचेतना फैलाउनु पर्ने र गर्नै परे सुरक्षित गर्भपतनमा ध्यान दिनुपर्ने बताउनुभयो । विद्यालय नर्स, शिक्षक लगायतले निशुल्क सेनिटर प्याड वितरणले किशोरीहरुलाई विद्यालयमा नियमित गराउन मद्धत गरेको भन्दै गुणस्तरीय प्याड खरिदमा ध्यान दिन सुझाव दिएका छन् । नगर प्रमुख ढकालले आगामी दिनमा सुरक्षित महिलावारी व्यवस्थापन र सुरक्षित गर्भपतनका विषयमा अभियानमूलक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।