गुराँस गाउँपालिका वडा नम्बर ८ बालमैत्री वडा घोषणा

दैलेख । दैलेख गुराँस गाउँपालिकाको वडा नम्बर ८ लाई बालमैत्री स्थानीय शासन युक्त वडा घोषणा गरिएको छ ।
बिहिबार एक कार्यक्रकका बिच वडालाई बालश्रम मुक्त, हिँसारहित, बालविवाह निषेधित तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएको हो ।
बालमैत्री वडा घोषणासँगै गुराँस गाउँपालिका वडा नम्बर ८ दैलेख जिल्लाको तेस्रो र गुराँस गाउँपालिकाको दोस्रो बालमैत्री वडा बनेको छ ।
बालमैत्री हुनको लागि ५१ वटा सुचकहरु पुरा गर्नुपर्ने हुन्छ । ति ५१ वटा सुचकहरु पुरा भएको भन्दै वडा नम्बर ८ का वडा अध्यक्ष दिपेन्द्र ओलीले वडालाई बालमैत्री स्थानीय साशनका रुपमा घोषणा गरिएको जानकारी दिनुभयो ।
वडा नम्बर ८ ले वडामा जोखिममा परेका बालबललिकाहरुको राहत पुनस्थापना तथा उद्धारका लागि बालकोष स्थापना गरेको छ भने बालबालिकाको वस्तुस्थिती विवरण, बालबालिकाको स्थिती प्रतिवेदन, लगानी योजना लगायत बालबालिका मैत्री नीति निर्माणमा प्रगती गरेको ओलीले बताउनुभयो ।
स्थानीय तहको बार्षिक बजेटमा बालबालिका लक्षित बजेट १४ प्रतिशत विनियोजन गरिएको छ भने वडा बालअधिकार समिति, पालिकास्तरीय बालअधिकार समिति र बाल अधिकारीको व्यवस्था समेत गरेर बालमैत्री वडाको लागि सुचक पुरा गरिएको छ ।
५ वर्षमा बालविवाह ५२ प्रतिशत बाट ५ प्रतिशतमा झारेको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सत प्रतिशत जन्मदर्ता, खोप र विद्यालय भर्ना, बाल श्रमिक सम्बद्ध परिवारका लागि वैकल्पिक आय आर्जनका कार्यक्रम लगाएत माँपदण्ड पुरा गरेको प्रतिबेदनमा जनाइएको छ ।
अब पालिकालाई नै बालमैत्री बनाउने तयारीमा छौ: अध्यक्ष विसी
वडा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै गुराँस गाउँपालिका अध्यक्ष टोप बहादुर विसीले अब पालिकालाई नै बाल मैत्री बनाउनेगरी योजना तयार गरिएको बताउनुभएको छ ।
उहाले बालबालिकाको क्षेत्रमा लगानी बढाउँदै लैजानेगरी आफुहरुले योजना बनाएको भन्दै पालिकालाई नै बालमैत्री बनाउन सक्ने आधार वडा नम्बर ८ र ६ ले दिएको उल्लेख गर्नुभयो ।
वडा नम्बर ६ लाई यसअघि २०७५ सालमा बालमैत्री वडा घोषणा गरिएको थियो ।