वीरेन्द्रनगरको एकीकृत विकास योजनाको अवधारणा सार्वजनिक

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको एकीकृत विकास योजनाको अवधारणा सार्वजनिक गरिएको छ ।
कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले आइतबार वीरेन्द्रनगरको एकीकृत विकास योजनाको अवधारणा सार्वजनिक गर्दै वीरेन्द्रनगरलाई व्यवस्थित गर्ने सरकारको पहिलो प्राथामिता रहेको बताउनुभयो ।
प्रदेशसभाको चौथो बैठकले सुर्खेतको वीरेन्द्रनगरलाई कर्णाली प्रदेशको स्थायी राजधानी बनाउने घोषणा गरेको थियो । जसमा उच्च शिक्षाको केन्द्र, पर्यटकीय महत्व, कृषि योग्य जमिनको संरक्षण, सुरक्षित आवास क्षेत्रको विकास र आवश्यकताको पूर्ति, जलाधार क्षेत्र निर्माण र पानीको व्यवस्थापन, हरियाली र वातावरण र आर्थिक विकास रोजगारी मुख्य योजनामा छन् ।
वीरेन्द्रनगरलाई सभ्य, सुन्दर, हरित, व्यवस्थित, समृद्ध शहरको रुपमा विकास गर्न यो अवधारणा ल्याइएको प्रदेशका प्रमुख सचिव डा. गोपीकृष्ण खनालले बताउनुभयो ।
नगरपालिकाको स्थानगत एकीकृत विकासको योजना अवधारणा आगामी जेठ मसान्तसम्म तयार गरिने उनले बताउनुभयो ।
यस्तै योजना २०८० साउन १ गतेदेखि कार्यान्वयनमा जाने उनको भनाइ छ । एकीकृत विकास योजनाको अद्यावधिक हरेक २ वर्षमा वीरेन्द्रनगर नगरपालिकाको सहकार्यमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट हुने खनालले जानकारी दिनुभयो ।
प्रादेशिक राजधानीको विकासको दीर्घकालीन सोच, लक्ष्य, रणनीतिक प्राथमिकतासहित रणनीतिक योजना निर्माण गर्नेछ ।
काँक्रेविहारको ऐतिहासिक तथा सांस्कृतिक महत्वको संरक्षण, पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने विशेष सांस्कृतिक योजनासमेत तयार पारिएको छ ।